कांग्रेसबाट निकालिए गोविन्दराज जोशीसहित तीन नेता
काठमाडौं, साउन ११ । पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जनालाई कांग्रेसले पार्टीबाट निस्काशन गरेको छ ।
कांग्रेसको अनुशासन समितिको शनिबार बसेको बैठकले नेता जोशीसहित पूर्वमन्त्री पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निकालेको हो । पूर्वमन्त्रीसमेत रहेका जोशीलाई गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएको आरोपमा ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ । समितिले पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्काशन गरेको छ । ओझालाई कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।
यसैगरी पार्टी सभापति देउवाकै गृहजिल्ला डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई पनि अनुशासन उल्लंघन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निकालिएको छ ।
तीनै जनालाई सोधिएको स्पष्टीकरणको जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै समितिले पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको हो ।