ओलीविरुद्ध खनिए प्रचण्ड : भन्छन्- ‘ओलीकै पहल र सक्रियतामा एमाले दर्ता गर्न लागियो’
काठमाडौं साउन ९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनु र सरकारले पार्टीमा हैकम जमाउन खोज्दा पार्टी संकटपूर्ण अवस्थामा पुगेको बताएका छन् । प्रचण्डले पार्टी र सरकारबीचको सम्बन्ध राम्रो बन्न नसक्नुमा सामूहिक नेतृत्वको अभ्यासको अभाव भएको पनि बताए ।
‘पार्टी संकटमा छ । छैन भनियो भने त्यो गलत हुनेछ । अहिले बैठक चलिरहेको छ । मैले सार्वजनिक रुपमा पहिले पनि भनेको छु, पार्टी संकटमा छ । ठीकठाक छ भनेर मैले भनें भने त्यो सत्य हुँदैन । त्यो साँचो होइन । किनकि हाम्रो पार्टीको बैठक चलिरहेको समयमा निवार्चन आयोगमा नेकपा एमाले नामको अर्को पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको पहल र सक्रियतामा भएको छ । त्यसकारण त्यसले सकंटकलाई व्यक्त गरेकै छ । यो सबैले देखेकै कुरा हो ।’
पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला शुक्रबार नेकपाका संस्थापक नेताहरु पुष्पलाल र नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले पुष्पलाल, पार्टीको अवस्था, सरकार र पार्टीबीचको सम्बन्ध लगायतका विषयमा यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा दाहालको मन्तव्यको सम्पादित अंश :
कम्युनिष्ट पार्टीभित्र हुने संघर्ष स्वभाविक हो । पार्टीबाहिर समाजमा चल्ने संघर्षकै प्रतिबिम्व कम्युनिष्ट पार्टीभित्रको संघर्षमा हुन्छ । कहिले श्रमजीविप्रति निष्ठावान हावी हुन्छन् कहिले विजातीय प्रवृति हावी हुन्छन् । एकता, संघर्ष, रुपान्तरण र फुटसम्म पनि हुन्छ । मार्क्स र एंगेल्सले नै यसबारे भन्नु लेख्नु भएको छ । यसबारे अध्ययन गर्नु आवश्यक छ ।
कम्युनिष्ट पार्टीभित्र एकता चोचोमोचो मिलाएर हुने होइन । संघर्षकै माध्यमबाट एकता पनि बलियो हुने हो । पार्टीभित्र र बाहिर पनि हुने विचारको संघर्षले नेतृत्वलाई परिपक्व र एकताबद्ध बनाउने हो । संघर्ष र बहसभन्दा बाहिर तथाकथित एकताको माला जपेर एकता हासिल हुने होइन ।
कम्युनिष्ट पार्टीको सच्चा नेता र कार्यकर्ताले एकता, संघर्ष, रुपान्तरण र यसबाट फेरि नयाँ आधारमा नयाँ एकता हालिस गर्ने सोच र विधि लिनुपर्दछ । यसो गर्दा एकता नै हासिल नभएर फूटमा जान पनि सक्छ । यसबारे एंगेल्सले पनि भन्नु भएको छ ।
पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । तर, २००८ सालपछि उहाँलाई नेतृत्वबाट हटाइयो । पछि महासचिव बन्नबाट रोकियो । २०१४ सालमा पुष्पलालको नीति र विचार पारित भयो । पार्टी उहाँको नीति र विचारमा चल्यो तर नेतृत्व रायमाझी (केशरजंग रायमाझी) को भयो । नीति एउटाको तर नेतृत्व त्यसका विरोधीको । तपाई हामीले यसो हेर्यौं भने अहिले पनि त्यस्तै भएको हो कि ? नीति र विचार एउटाको हुने तर नेतृत्व अर्कैको हुने भएको हो कि । आज हामीले भोग्नुपरेको समस्याको चुरो त्यतै कतै छ कि भनेर वरिपरी हेर्नु जरुरी छ जस्तो मलाई लाग्छ । किनभने २०१४ मा पुष्पलालको जनवादी क्रान्तिको नीति पारित भएर पनि राजापरस्त रायमाझी आउने जुन प्रवृति देखियो आज पनि हामीले त्यस्तो नहोस् भनेर हेर्नुपर्ने छ । यदि त्यस्तै हुने हो भने १४ सालपछि जस्तो स्थिति आयो त्यस्तै हुनेछ । २०१४ सालपछि नीति एउटा र नेतृत्व अर्को भएपछि त्यो कम्युनिष्ट आन्दोलन दूर्घटनामा जाने नै थियो । त्यसमा कसैको पवित्र इच्छा हुँदैमा रोकिने कुरा होइन । वैज्ञानिक नियमअनुसार नै त्यो अघि बढ्छ ।
तर, फूटपछि पनि कम्युनिष्ट आन्दोलन समाप्त भएन । त्यसलाई अर्को पुस्ताले फेरि झन्डा बोकेर अघि बढायो । त्यसपछि नेपालको कम्युनिष्ट आन्दोलन दुई धारका रुपमा अघि बढ्यो जसलाई २०७५ आएर हामीले एकै ठाउँमा ल्यायौं ।
निकै ठूलो उत्साह र निकै ठूलो भरोसा आम जनता र पार्टीभित्र पैदा भयो । तर, कार्यकर्ता र जनताको मनमा कतै यो एकता महाधिवेशनमा नपुग्दै फुट्ने त होइन भन्ने आशंका छन् । हामीले गठबन्धन बनाएर एउटै उम्मेदवार बनाएर चुनावमा जाँदा घोषणापत्रका केही आधारहरु बनाएका थियौं । हामीले उन्नत अर्थतन्त्रसहितको सम्वृद्ध नेपालको एउटा सपना दिएका थियौं । त्यसले जनतामा आशा र भरोसा पैदा गरेको थियो । त्यहाँदेखि यहाँसम्म आउँदा हामीले त्यसलाई कति कायम राख्न सक्यौं ? सक्यौं कि सकेनौं ? सकेनौं भने के कारणले सकेनौं के त्यस्तो कारण परेको छ ?
अहिले बिहानै बेलुकै समाचार सुन्दा कुन नहुने समाचार सुन्नुपर्ने हो भनेर जुन संन्त्रासयुक्त मन लिएर बस्नुपरेको अवस्था छ, यति छिटै, एकता प्रक्रिया नटुंगिँदै यस्तो अवस्था किन पैदा भयो ? आजको महत्वपूर्ण यक्ष प्रश्न यही छ । यसको जवाफ पार्टीमा खोज्ने प्रयास हामीले गरिरहेका छौं ।
कम्युनिष्ट पार्टी भनेको सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी लिएर चल्ने पार्टी हो । त्यस्तो सामूहिक नेतृत्व हामीले विकसित गर्न सक्यौं कि सकेनौं ? दुई वर्षसम्म केन्द्रीय समितिको बैठक गर्न सकेनौं । जब कि ६ महिनामा बैठक गर्नुपर्ने विधानमा छ । बैठकै नबसेपछि सामूहिक छलफल र निष्कर्ष भन्ने नै भएन ।
पार्टी भनेको विवेक हो, सरकार भनेको सत्ता हो । कम्युनिष्ट पार्टीमा विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ । त्यो भनेको पार्टीले सत्ता चलाउने हो । सरकारले पार्टीमाथि हैकम चलाउनेजस्तो स्थिति भयो भने त्यो तपाई हाम्रो वैज्ञानिक मान्यताभन्दा बाहिरको कुरा हुन्छ ।
पछिल्लो दुई वर्षलाई हेर्दा कतै विवेकले सत्तालाई चलाउने नभइ सत्ताले विवेकलाई चलाउने अवस्था भएको हो कि ? समूहको अधिनस्थ व्यक्ति हुनेभन्दा व्यक्तिको अधिनस्थ समूह भएर जाने खतरा पो पैदा भएको हो कि ?
हामीले जनतालाई सुशासन दिन्छौं भन्यौं । तर श्रृंखलाबद्ध रुपमा उठिरहेका प्रश्नहरु र भ्रष्टाचारबारे उठिरहेका प्रश्नहरुको निरुपणमा हामी कति सफल भयौं ? हामीले विचारलाई प्राथमिकता दिने या पावरलाई भन्ने प्रश्नमा हामी कसरी गइरहेका छौं ? अघि यहाँ कुरा आयो- हुँदा हुँदा हाम्रो पार्टीमा त बैठक बस्न पनि निकै ठूलो कसरत गर्नुपर्ने र बैठक बसिसकेपछि बैठकको ओज महत्व र गरिमलाई कायम राख्ने कि नराख्ने भन्ने डिबेटहरु पनि हामीले सुन्नु परेकै छ ।
राष्ट्रियताको सवालमा जब नक्साको कुरा उठ्यो, जब भारतले नेपालको भूभागलाई समेत राखेर नक्सा निकाल्यो, त्यो बेला कार्यकारीका रुपमा स्थायी समितिको बैठकको अध्यक्षता मैले गरिररहेको थिएँ । जब भारतले हाम्रो भूभाग समावेश गरेर नक्सा निकालेको थाहा भयो हामीले अरुको एक इन्च पनि चाहिएन, हाम्रो एक इन्च भूमि पनि छोड्दैनौं भनेर तत्काल आफ्नो भूमिसहितको नक्सा प्रकाशन गर्ने निर्णय स्थायी समितिबाट गर्यौं । र, मैले सरकारलाई नक्सा प्रकाशन गर्न ढिलो गर्नु हुँदैन भनेर पुस महिनामा भनेको हो । त्यतिबेला सरकराले नक्सा किन निकाल्ने सिधै भूमि फिर्ता ल्याउने भन्ने कुरा आयो । तपाईहरुलाई थाहा छ माघ महिनामा बसेको केन्द्रीय समितिले पनि नक्सा जारी गर्न भन्यो ।
तर, सरकारले त्यस किसिमको तयारी गरेको देखिएन । संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन बिहान एकैछिन बसेको सचिवालय बैठकमा नक्सा प्रकाशित गर्ने कुरा नीति कार्यक्रममा पार्नै पर्यो भनेर भन्यौं । अन्त्यमा त्यही बैठकमा रहनु भएका प्रधानमन्त्रीजी पनि त्यसमा सहमत हुनुभयो । त्यही बैठकबाट मूख्यसचिवलाई फोन गरेर प्रेसमा छापिइरहेको नीति तथा कार्यक्रममा नक्सा जारी गर्ने कुरा थप गर्न लगाइयो । त्यो पार्टीको निर्णय थियो । एकजना कमरेडले भन्नुभयो, ‘पार्टीको निर्णय सरकारले मानिदिँदा कति राम्रो हुने रहेछ त । नक्सा प्रकाशित भयो, संविधान संशोधन भयो । सारा नेपाली गौरवान्वित भए । जनतामा राष्ट्रिय एकताको भावना देखियो, सब एकताबद्ध भए । पार्टीको निर्णयबेगर सरकारले निर्णय गर्नखोज्दा कति धेरै विवाद आए, कतिधेरै अन्यौल जन्मिए’ भन्ने कुरा राख्नु हुँदै थियो ।
हामीले प्रधानमन्त्रीलाई त्यसमा धन्यवाद पनि भन्यौं किनभने पार्टीले मात्रै निर्णय गरेर उहाँले नमानेको भए त्यो लागू हुन सक्दैनथ्यो । त्यसको वैधानिक हैसियतका निम्ति सरकार चाहिन्थ्यो । तर, यदि फेरि पार्टीको सामूहिक विवेकबाट भएको निर्णयलाई पालन गरेको सप्पै चाहिँ व्यक्तिको खल्तीमा हाल्ने प्रयास भयो भने त्यो इमान्दार प्रयास हुनसक्दैन । त्यसले फेरि अर्को विभ्रम पैदा गर्छ ।
यो कम्युनिष्ट पार्टीको सामूहिक विवेकको निर्णयको उपलब्धि हो । त्यसलाई वैधानिकता प्रदान गरेकाले सरकार पनि धन्यवादको हकदार हो । यो पो सहि कुरा हो । अनि त्यही पार्टी जसले यो नक्सा प्रकाशित गर्ने निर्णय गर्यो निरन्तर सरकालाई दबाब दियो त्यो चाहिँ राष्ट्रघाती र दलाल, जुन सरकारले नक्सा प्रकाशित गर्न यति ढिलो गर्यो त्यसको चाहिँ देवत्वकरण ? यो हुनसक्दैन । हामी सबैले बुझ्नु पर्ने कुरा छ यो । त्यस्तो भयो भने त्यहाँ इमान्दारिता र पारदर्शिता हुँदैन । त्यहाँ विवेकले काम गरेको भन्ने हुँदैन ।
अहिले बैठक चलिरहेको छ । मैले सार्वजनिक रुपमा पहिले पनि भनेको छु, पार्टी संकटमा छ । ठीक ठाक छ भनेर मैले भनें भने त्यो सत्य हुँदैन । त्यो साँचो होइन । पार्टी संकटमा छ । किनकि हाम्रो पार्टीको बैठक चलिरहेको समयमा निवार्चन आयोगमा नेकपा एमाले नामको अर्को पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको पहल र सक्रियतामा भएको छ । त्यसकारण त्यसले सकंटकलाई व्यक्त गरेकै छ । यो सबैले देखेकै कुरा हो ।
अहिले देशभरी केही कार्यकर्तालाई नाराजुलुशमा लगाउने काम भएको छ । हामी पार्टीलाई कसरी मिलाएर लैजाने, विवाद कसरी मिलाउने, राष्ट्रिय मुद्दाहरुमा कसरी एकताबद्ध भएर जाने भन्ने छलफल र बहस गरिरहेका छौं, बाहिर जिन्दावाद र मुर्दावादका नारा लगाइएका छन् देशभरी । देशभरीबाट साथीहरुले हामीलाई सोध्छन्, हामी के गर्ने ? हामीले धैर्य लिनुस् र पार्टी एकताको पक्षमा उभ्भिनुस् भनेर भनेका छौं । तर, त्यसखालका प्रचारहरु भएका छन् । यसबाट पार्टी संकटमा छ भन्ने देखाएको छ ।