स्रष्टालाई सम्मान गर्ने वातावरण पनि बन्‍नुपर्छ : सुन्दर पन्त, गीतकार



लेखक जो पहिलो स्रष्टा हो, त्यो चाहिँ गीत, सबभन्दा भिक्टिम भएको वर्ग हो ।

काठमाडौंको नागार्जुन नगरपालिका १० मा रहेको अमरज्योति माध्यमिक विद्यालय प्रधानाध्यापक हुन् सुन्दर पन्त । जसले सांगीतिक र साहित्यिक क्षेत्रमा पनि उत्तिकै ख्याति कमाउनु भएको छ । नेपाल शिक्षक संघका केन्द्रीय उपमहासचिव रहेका पन्त वरिष्ठ गीतकारका रुपमा पनि परिचत हुनुहुन्छ । उहाँसँग गीत, संगीत, शिक्षा, सामाजिक सेवा लगायत विषयमा साझा पथका लागि भरत तामाङले गरेको कुराकानी :

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
पछिल्लो समय गीत, संगीत र विद्यालयको शैक्षिक गतिविधिलाई अगाडि लैजाने काममा लागिरहेको छु ।
तपाईं प्रधानाध्यापक, नेपाल शिक्षक संघका जिम्मेवार पदाधिकारी हुँदा हुँदै गीतसंगीतमा पनि उत्तिकै खटिनु भएको देख्छु । समय कसरी व्यवस्थापन गर्दै आइरहनुभएको छ ?

विद्यालयको हकमा बिहान १० देखि दिउँसो ४ बजेसम्म हो । त्यही पनि प्रशासक प्रमुखको जिम्मेवारी मेरो पद भएकोले हुनाले बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्यालयमा बस्ने, पढाउने हो । त्यसको आलवा संगीत क्षेत्रमा समय दिने हो । जुन जुन बेलामा गीत, संगीतको रेकर्डिङ हुने वा भेटघाटको बेला समय निकालेर गर्दै आएको छु । समय आफैंले व्यवस्थापन गर्ने हो, अहिलेसम्म भइरहेको छ ।

साहित्य, गीत, संगीत सुरुमै गर्नुभयो वा शिक्षण पेसा गर्दागर्दै बीचबाट अगाडि बढाउनुभयो ?
पहिले चाहिँ म शिक्षक हुँ । शिक्षक भएपछि सबै विषयमा अलि अलि जानकारी हुन्छ । त्यसकारणले साहित्य सिर्जना मैले २०५२ सालदेखि सुरु गरेको हुँ । यद्यपि प्रचारप्रसार या बाहिर बजारमा आउन थालेको चाहिँ २०७२ सालदेखि हो । अहिलेसम्म तीन वटा एल्बम निकालिसकेँ । एउटा कवितासंग्रह छ । आगामी दिनमा पनि गीत, संगीत क्षेत्रमै लागिरहनेछु । विद्यालयमा पनि करिब ३ दशक अध्यापन गरेको हुनाले सबै क्षेत्रको अलि अलि ज्ञान छ । त्यसकारणले चलिरहेको छ । जहाँसम्म लाग्छ, शिक्षक भइसकेपछि एउटा आइडलको रुपमा रहनुपर्छ । ताकि हामी ठीक ढंगले अगाडि बढेको अवस्थामा केटाकेटीहरु र समुदायलाई पनि परिवर्तन गर्न सकिन्छ । शिक्षक समाज परिवर्तनका संवाहक हो । हामी त्यसको पक्षमा छौं ।

साहित्यको कुन कुन पाटोमा हात हाल्नुभएको छ ?
मैले राष्ट्रिय, आधुनिक, पप सेक्टरका गीतहरु पनि लेखेको छु । सबै सेक्टरमा मेरो कलम चलेको छ, गीत, संगीतको क्षेत्रमा । र, कवितासंग्रह ‘अनामिका’ भन्ने प्रकाशन गरेको छु । यही वर्षमा ल्याउने गरी उपन्यासको पाण्डुलिपि तयार भइसकेको छ । यो वैशाखमै निकाल्ने भन्ने थियो तर कोरोना भाइरसका कारण असोज, कार्तिकमा निस्कन्छ । यसको नाम ‘प्रियंका’ राखेको छु ।

साहित्य सिर्जना यही बेला भन्ने हुँदोरहेनछ । कहिलेकाहीं हिँड्दाहिँड्दै पनि सिर्जना फुर्छ । घरमा बस्दा पनि फुर्छ । कार्यालय समयमा पनि फुर्छ । जुनसुकै बेलामा पनि सिर्जना हुन्छ । तर सिर्जना फुरेको बेला लिपिबद्ध गर्न सक्यौं भने सान्दर्भिक हुन्छ । हामीले त्यो ढंगले लिन्छौं । यही समयमा साहित्य सिर्जना गर्छु भनेर स्रष्टाहरुले सक्छन् जस्तो मलाई लाग्दैन । जुनबेला स्रष्टाका अन्तरनिहीत प्रतिभा प्रस्फुटन हुन्छ । भनौं, वायुमण्डलमा पनि त्यस्तै खालको ज्ञान प्रवाह हुन्छ कि के हो ! सर्जकलाई त्यो खालको प्रवाह हुन्छ । त्यतिबेलै सर्जकले लेख्न थाल्यो भने राम्रो सिर्जना बन्छ भन्ने मेरो विश्वास छ ।

‘अनामिका’ कस्तो कृति हो ?
‘अनामिका’ गद्य कवितासंग्रह हो । कुनै कुनै बेलामा स्रष्टाहरुका मनमा भावहरु उत्पन्न हुन्छन् । त्यो भावहरु गद्य शैलीमा लेखिएका हुन् । कतिपय ती गद्यहरुमा मनका भावना पोखिँदाखेरी समाजका विभिन्न व्यक्ति, पात्र र घटनासँग जोडिन्छ । राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक पक्षसँग जोडिन्छन् र त्यसकै आधारमा रचन गरिएको हो । मेरा मनका भावना व्यक्त गरिएका ‘अनामिका’ हो । मलाई लाग्छ, पाठकहरु यसलाई मन पराउनु भएको छ । त्यसका लागि म विशेष आभार व्यक्त गर्न चाहन्छु ।

पछिल्लो समयको सांगीतिक बजार यहाँलाई कस्तो लाग्छ ?
गीत, संगीतको बजार त राम्रै छ । राम्रा स्रष्टाहरुले लेखेका गीत बजारमा चलेकै छन् । तर बजारको माग अनुसार आम नेपालीहरुको भावनासँग जोडिएका गीत बजारमा आउनुपर्छ । मेरा थुप्रै गीतसंगीत बजारमा आएका छन् । पछिल्लो कोरोना कहरसम्बन्धी ‘यस्तो संकटको बेलामा’ भन्ने मेरो सिर्जना आएको छ । युट्युबमा पनि हेर्न सकिन्छ । त्यसमा बिपत्तिमा परेका बेला हुनेखानेले केही सहयोग गरौं ताकि नहुने दिनदुखीहरुलाई सहयोग पुर्‍याउन सकौं भन्ने सन्देशमूलक गीत छ ।
अरु चलचित्रका गीत पनि छ । अहिले फिल्म रिलिज नभइसकेकोले त्यो आउनेक्रममै छ । नेपालमा संगीतमा आफूलाई अब्बल ठान्ने गायक/गायिकाहरुले समेत मेरा गीत गाउनुभएको छ । सबै स्रष्टाहरुप्रति पनि म सम्मान व्यक्त गर्न चाहन्छु ।

गीत, संगीत, साहित्यमा जति चर्चा कमाउनु भयो, त्यसकै माध्यमबाट आम्दानी कत्तिको गर्नुभयो ?
साहित्य सिर्जना, गीत संगीतमा जो स्रष्टा छ । गीत लेखक छ । त्यसले पैसा कमाउँछ भन्ने म जान्दिनँ, बुझ्दिनँ । कमाएको जस्तो पनि लाग्दैन । केही नाम चलेका साहित्य, स्रष्टाहरुले केही लिएको हुनसक्छ । लेखक जो पहिलो स्रष्टा हो, त्यो चाहिँ गीत, सबभन्दा भिक्टिम भएको वर्ग हो । पहिलो स्रष्टालाई सम्मान गर्न सकिएन भने यो दीर्घकालसम्म रहिरहन सक्दैन । लेखक नै पहिलो स्रष्टा हो । त्यसपछि संगीत र गायकी हो । तर अहिले उल्टो भएको छ । सबभन्दा पहिला गायकले कमाउने, त्यसपछि संगीतकारले कमाउने र गीतकार चाहिँ सधैं ओझेलमा पर्ने अथवा कुनै पनि दाम नपाउने वर्गमा छ । त्यसैले संगीतकार होस् या गायक तिनले स्रष्टालाई सम्मान नगरुञ्‍जेलसम्म गीत, संगीतको क्षेत्रबाट अझ अगाडि बढ्न कठिन पर्छ । संसारभरि जहाँ जहाँ कन्सर्ट, युट्युब च्यानल लगायतबाट पैसा लिनुहुन्छ । त्यसको भागिदार पहिलो स्रष्टा पनि भएकोले संगीतकार अथवा गायकले त्यो स्रष्टालाई सम्मान गरेर उत्प्रेरणा पनि मिलोस् भन्न चाहन्छु । त्यसो भयो भने सय प्रतिशतमा हामी गीत लेख्ने, संगीत र गायक । यी तीनै पक्ष ३३ प्रतिशत भनिए तापनि अहिले सबभन्दा बढी लाभान्वित हुने गायक/गायका हुनुहुन्छ । उहाँहरुलाई यो लेखकले लेखेको गीतले म यो स्टेजमा आइपुगेँ भन्ने उहाँहरुलाई आत्मानुभूति हुनुपर्छ । उहाँहरुले स्रष्टालाई सम्मान गर्ने वातावरण पनि बन्नुपर्छ भन्ने मलाई लाग्छ ।

तपाईं आफूलाई कुन गीतले चिनाएको ठान्नुहुन्छ ?
मेरो आफ्नै जीवन घटनासँग जोडिएको गीत ‘मैले यमराजसँग मित लाएँ’ भन्ने रामकृष्ण ढकालज्यूले गाउनुभएको छ । त्यो गीतले पनि मलाई चिनाउँछ । मेलिना राईले गाउनुभएको ‘सिमसिम पानी’, पछिल्लो समय सन्देशमूलक गीत ‘संकटको बेलामा’ तारावीरले गाउनुभएको गीतले पनि मलाई चिनाउँछ । त्यसैगरी शिवहरि पौडेल र समीक्षा अधिकारीले गाएको ‘चियासँग चुरोट’ गीतले पनि मलाई चिनाउँछ । त्यो लगायत राज सिग्देल, राजसागरदेखि लिएर तारावीर पाण्डे, सन्तोष रजौरिया लगायत स्रष्टाहरुले गाएका गीतहरु अब्बल छन् । यी गीतहरुले मलाई गीतकारको रुपमा चिनाउँछ । यी भन्दा राम्र गीत भोलिका स्रष्टाहरु गाउन पाउने छन् भन्न पनि चाहन्छु ।

यहाँ समाजसेवामा पनि हुनुहुन्छ । साहित्य लेखनबाट समाज परिवर्तनको अपेक्षा चाहिँ के कस्तो गर्न सकिन्छ ?
साहित्यले चेतना दिने हो । कुनै पनि सर्जकले समाज परिवर्तनका लागि एउटा सिर्जना गर्छ । त्यही सिर्जना सञ्‍चारकामाध्यमबाट बाहिर आउँछ । त्यसपछि ती सिर्जनाहरु आम पब्लिकका सम्पत्ति हुन्छन् । पब्लिकले सुनिसकेपछि समाजलाई परिवर्तनको दिशामा अग्रसर गराउँछ । त्यसैले पक्कै पनि सिर्जनाले समाजलाई परिवर्तन गर्छन् । जागरण ल्याउने काम पनि सिर्जनाबाटै हुन्छ ।

अब विद्यालयको कुरा गरौं, कोरोनाको महामारीमा कसरी सञ्‍चालन गरिरहनुभएको छ ?
कोरोनाको संकट नेपालमा मात्रै होइन, विश्वव्यापी छ । त्यसबाट हाम्रो विद्यालय त के सिंगो मुलुक अछुतो रहेन । यद्यपि सरकारले विद्यालय सञ्‍चालन नभइञ्जेलसम्म भर्चुअल क्लास लिने, अनलाइन जुम क्लास लिने, विद्यार्थीहरुलाई पाठ्यपुस्तक, सामग्री वितरण गर्ने र सकेसम्म रेडियो एफएमहरु सुनाउन, कुन कुन च्यानलहरुबाट प्रसारण भइरहेको छ । त्यसबाट ज्ञान लिनका लागि आग्रह गरे अनुसार हामीले पनि विद्यार्थीहरुलाई त्यही कुरा भनेका छौं । केटाकेटीहरु त्यसैमा छन् । अहिले कक्षा ८, ९ र १० का केटाकेटीहरुलाई जुमबाट क्लास लिइरहेका छौं । हाम्रो देशमा इन्टरनेटको सहज पहुँच नभएका, सामुदायिक विद्यालयमा न्यून आए भएका केटाकेटी पढ्ने भएको हुनाले सहज पहुँच त छैन । यद्यपि केटाकेटीहरुको जुन साधनस्रोत छ त्यसलाई अधिकतम प्रयोग गरेर कक्षा लिने काम गरेका छौं । सरकारले भदौं १ गतेदेखि भर्ना, परीक्षा सञ्‍चालन गर्न दिने निर्णय गरे पनि कोरोना संकट अझ लम्बिने भएकोले कक्षा सञ्‍चालन नहुँदा विकल्पहरु खोजी गर्नुपर्छ । त्यसका लागि विद्यार्थीहरु पढ्न आतुर छन् । शिक्षकहरु पनि पढाउन आतुर छन् । खाली भयको वातावरण भएका कारण राज्यले नै यसरी गर्दा हुन्छ भनेर व्यवस्थापन भन्यो भने हुन्छ ।

कोरोना महामारीले भविष्यमा कस्तो असर पर्न जाला ?
सरकारले चैतमा लकडाउन गरे पनि असारमा खुकुलोपन गरायो । तर लकडाउनमा अधिकांश विद्यार्थी घरभित्र विभिन्न अवस्थामा रहेका थिए । छन् । कतिपय बलात्कारका घटनाहरु पनि भएका छन् । घर परिवारबाटै शीषित, पीडित भएको अवस्था छ । कतिपय घरबाहिर ननिस्किएका कारणले उनीहरुको मनोविज्ञानमा असर गरेको छ । कतिपय घरमा खाद्यान्न अभाव, डेराभाडा तिर्न नसकेको लगायत हामीले आँकलन गर्न नसकेको विकराल समस्याका केटाकेटीहरु पनि छन् । विद्यालय खुलिसकेपछि, विद्यालय आइसकेपछि उनीहरुलाई राम्रो मनोपरामर्श गर्न सकिएन भने अझ भयावह अवस्था हुन्छ । भूकम्पबेला जस्तो अहिले होइन । घरभित्र बस्दा समेत हामीले परिवारका एक सदस्य र अर्कोबीच निकट रहन नसक्ने भयको वातावरण भयो । तल्लोकोठा, माथिल्लो कोठा, वल्लाघर, पल्लाघर आउनजान नसक्ने एउटा निषेध जस्तो अवस्था रहेकाले बालमष्तिष्कमा अत्यन्तै ठूलो नकारात्मक प्रभाव परेको छ । विद्यालय खोलिसकेपछि हामीले सबभन्दा पहिला विद्यार्थीहरुको अवस्था मूल्यांकन गर्नुपर्छ । तिनीहरुको तथ्यांक लिनुपर्छ । कुन कस्तो अवस्थामा छन् । तिनीहरुको मनोरोगहरु के कस्ता हुन सकेका छन् । तिनीहरुले घरायसी के कस्ता समस्या झेलेर निस्किएका छन् ? त्यो सबै एनालाइसिस गरेर तिनीहरुलाई कस्तो मनोविज्ञबाट मनोपरामर्श दिनुपर्छ । त्यसपछि मात्र विद्यालय सहज ढंगले चल्छ । त्यस्ता खालका विज्ञहरु पनि राज्यले तयार गर्नुपर्छ । अबको पठनपाठन मनोपरामर्शसहितको हुनुपर्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
गीतसंगीतको क्षेत्रमा मैले केही भन्नु छैन । स्रष्टाहरुले स्रष्टाहरुलाई नै सम्मान गर्नुपर्छ । एक स्रष्टाले अर्को स्रष्टालाई आदरसत्कार गर्ने चलन पनि हटेको छ । त्यसतर्फ सम्पूर्ण स्रष्टाहरुलाई अनुरोध गर्न चाहन्छु । आफूभन्दा अग्रजलाई सम्मान गर्ने, सानालाई माया गर्ने पहिला गुरुकुलमा भएका त्यस्ता कामहरु पनि होउन् भन्ने चाहन्छु ।

शिक्षा क्षेत्रका हिसाबले सबै खालका केटाकेटीहरुले गुणस्तरीय र सर्वशुलभ शिक्षा पाउन् भन्ने छ । सामाजिक क्षेत्रका हिसाबले समाजमा विपत्तिमा परेका विपन्न वर्ग । जुन समाजमा तल्लो तह र अपहेलित वर्गका समुदाय छन् । त्यो समुदायलाई उठाउन हामी सबै सचेत नागरिक अगाडि लाग्न पर्छ । त्यसो भयो भने मात्र उन्नत समाज बन्छ । हामीले सरकारमात्रै भनेर हुँदैन । समुदाय निर्माण गर्न, आफ्नो ठाउँ विकास गर्न एकजुट भएर लाग्नुपर्छ । समुदाय हामीले बनायौं भने त्यो समुदाय नै सरकार हो । राज्य हो । त्यो समुदाय नै वर्ग, व्यक्ति सबै हो भन्ने हामीलाई लाग्छ । त्यही गर्नुपर्छ भन्ने मेरो बुझाइ हो ।

प्रतिक्रिया दिनुहोस्