भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा चल्ने
काठमाडौं साउन ६ । विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षासमेत भदौ १ बाट सञ्चालन गर्न सकिने सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिएका छन् ।
विद्यालय कलेज, ट्युशन सेन्टर तालीम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर्शनी, भेला तथा सम्मेलन, सिनेमाहल, पार्टी, प्यालेस डान्सबार मनोरञ्जल स्थलहरु भने अर्को सूचना नआए सम्मका लागि सञ्चालनमा रोक लगाइएको छ । यद्यपि कोभिड–१९ को प्रभाव र त्यसको सङ्क्रमणको अवस्थाका आधारमा भदौ १ अघि नै सरकारले उक्त विषयमा निर्णय लिन सक्नेसमेत मन्त्री डा खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
उनका अनुसार सैलुन, ब्युटीपार्लर, स्विमिङपुल, जिमखाना, धार्मिक तथा सामाजिकस्थल, समूहमा खेलिने खेल, पुस्तकालय सङ्ग्रहालय चिडियाखाना पनि अर्काे सूचना जारी नभएसम्मका लागि सञ्चालन गर्न पाइने छैन ।
सेवा सञ्चालन भएका क्षेत्रमा भने कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ । मास्क प्रयोग गर्नुपर्ने, पटकपटक साबुन पानीले हात धुनुपर्ने, सानिटाइजरको प्रयोग गर्नुपर्नेछ । सरकारले सङ्कटका कालोबजारी र जम्माखोरी गर्ने व्यक्तिहरुलाई भने कानूनअनुसार कारवाही गर्ने जनाएको छ ।