फर्कन चाहन्छन बिदेशमा बस्ने नेपाली
काठमाडौँ, वैशाख-१६ । रोजगार, अध्ययन तथा विभिन्न कारणवश विदेशिएका नेपाली यतिबेला विदेशी भूमिमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका छन् । विदेशमा रहेका नेपाली वा नेपाली मूलका ४९ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।
कतिपयको रोजगारी गुमेको छ भने कतिपयको कम्पनीले घर फर्कन चाहेको छ । समस्या परेका बेला मातृभूमि सम्झिँदै विदेशमा रहेका धेरै नेपाली स्वदेश फर्कन चाहन्छन् तर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मान्यता अनुसार यस्तो महामारी चलेका बेला जो जहाँ छन्, त्यहीँको सुविधा लिएर बस्नुपर्छ । यही मापदण्ड पछ्याउँदै नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई विदेशमै रहन भनेको छ । महामारीका बेला विदेशमा कुनै विपत्तिमा नेपाली नागरिक नपरून् भनेर सरकार प्रमुख र सम्बन्धित मन्त्रालयका उच्चाधिकारीसँग त्यहाँ रहेका नेपालीका लागि सहज वातावरण बनाइदिन कूटनीतिक आग्रह गरिएको छ । विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताएका छन् । उनले विदेशमा विभिन्न थरीका नेपाली छन्, सबैलाई त्यसरी फिर्ता ल्याउन तत्काल सकिने अवस्था हुन्न भनेका छन् ।
गैरआवासीय नेपाली सङ्घलाई विदेशका विभिन्न भूमिमा यतिबेला परराष्ट्र मन्त्रालयले सक्रिय बनाएको छ । केही दिनअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपाली सङ्घमा आबद्ध पदाधिकारीसँग छलफल गरेर विदेशमा रहेका नेपालीलाई सक्दो सहयोग गर्न आग्रह गरेको थियो । सबैभन्दा बढी श्रम मुलुकमा रहेका नेपाली स्वदेश फर्कन चाहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रायः सबै श्रम मुलुकका नेपालीले फर्कन चाहेका छन् । कतिपय नेपाली कोभिडका कारण लकडाउनमा कम्पनी बन्द भएपछि कामविहीन भएर बसेका छन्, कम्पनीले यस्तो बेला उत्पादन गर्न नसक्ने भन्दै धेरै नेपाली श्रमिकलाई बिदा दिएको मन्त्रालयको मध्यपूर्व, पश्चिम एसिया र अफ्रिका विभागका प्रमुख हरिश्चन्द्र घिमिरेले बताए । ती मुलुकमा कम्पनीको उत्पादन मात्र होइन, सेवा व्यवसायअन्तर्गत रहेको होटलसमेत बन्द छन् ।
मन्त्रालयले यतिबेला कुन देशका कति नेपाली फर्कन चाहन्छन् र कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको छ । फर्कन चाहनेको लर्को ठूलो भएकाले पनि मन्त्रालयले ठूलै व्यवस्थापन गर्नुपर्ने हुुन्छ । सबैलाई फर्काउन नसकिए पनि अवस्था हेरी केही नेपालीलाई फर्काउन सकिन्छ कि भन्ने अवधारणामा काम भइरहेको मन्त्रालयले जनाएको छ ।थुप्रै देशबाट स्वदेश फर्कन चाहनेको सन्देश आइरहेको छ तर त्यो गर्न सक्ने अवस्था छैन्, जहाँ जे जस्तो अवस्थामा बसेका छन्, त्यहीँको स्थानीय सुविधा प्रयोग गर्नु भनेर भनिरहेका छौँ, परराष्ट्र मन्त्रालयस्थित युरोप हेर्ने शाखाका प्रमुख निर्मल काफ्लेले बताए । उनका अनुसार मन्त्रालयले विभिन्न दूतावाससँग निरन्तर सम्पर्क गरेर नेपालीको स्थिति बुझिरहेको छ ।
गैरआवासीय नेपाली सङ्घका अनुसार हटलाइनमा फोन गर्नेमध्ये फर्कन चाहने ७७ प्रतिशत छन् । अन्य ११ प्रतिशतले विदेश जान आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत विदेशमा अध्ययन गर्न गएका विद्यार्थी छन् ।
यूएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्बिक, फिनल्यान्ड, अमेरिका, युके लगायत अन्य देशमा बसोबास गर्ने गैरआवासीय नेपालीले विभिन्न माध्यमबाट समस्या बताउने गरेका छन् ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।