राहत भनेको समाजका श्रमिक ,मजदुर र असहायका लागि हो-हितबहादुर तामाङ(प्रतिनिधिसभा,नेकपा)
नुवाकोट जिल्ला नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अत्यन्त शालीन तथा भद्र नेताका रूपमा परिचित,प्रतिनिधिसभा सदस्य तथा पुर्व मन्त्री हितबहादुर तामाङ पछिल्लो समय बिश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका बिषयमा रहेर केन्द्रदेखि जिल्लान्तर भैरहेको गतिविधिमा सक्रियताका साथ लागि परिरहेका छन्।कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नुवाकोट जिल्लामा भइरहेको गतिविधि के पर्याप्त छन?यस बिषयमा रहेर साझापथ डटकमका लागि यस पत्रिकाका सम्पादक भरतसन्तोषीले गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिन्छ:-
• लकडाउन अवधि कसरी बित्दैछ?
लकडाउन जसलाई नेपालीमा बन्द बन्दी पनि भनिन्छ ,यो अवधि बितेको केहि दिन भन्दा बिल्कुल भिन्न तरिकाले बिताईरहेको छु। अघि पछि सामान्य अवस्थामा बिहान उठेपछि अाफ्नो नित्यकर्म सके पछि कार्यकर्ता भाइ साथी वा अाफन्तहरुसंग भेटघाट गर्ने वा निर्धारित बैठक ,भेला वा सभा समारोहमा गइन्थ्यो भने अहिले घर बाहिरका कोही संग पनि भेटघाट छैन। बाहिर जाने त कुरै भएन।अहिले यो लकडाउन अबधिमा घरमै बसेर पनि गाउँ घर र जिल्ला एवम् निर्वाचन क्षेत्र बाट समस्या पर्नेहरुले सम्पर्क गर्नु हुन्छ। कतै बिरामी पर्यो अस्पताल सम्म जाने व्यवस्था मिलाई दिनु पर्यो भन्नू हुन्छ। कसैले उपचार गर्न काठमाडौं अाएको घर फर्केर जान पाएन भन्नू हुन्छ। कसैले कुखुरा,तरकारी ,खसीबोका काठमाडौं ल्याउन के कसो गर्ने भन्नू हुन्छ ।यी यस्ता समस्याहरु हल गर्न सहजीकरण र संयोजन गर्ने कामहरु जुटिरहेको छु। कतिपय त काठमाडौं बसोबास गर्ने चिनजानका मानिसहरु खर्च सकेर समस्यामा परेकाहरु,कतिपय अन्य विभिन्न जिल्लाबाट नुवाकोटका विभिन्न भूगोलहरुमा विभिन्न काममा गएका तर अहिले खर्च सकेर समस्यामा परेकाहरू सम्बन्धित ठाउहरुमा सम्पर्क र संयोजन गरिरको छु।अरु बचेको समयमा अनलाइनको खबर,पत्रपत्रिका, साथै अन्य कयौं महत्त्वपूर्ण पुस्तकहरु जो बिगतमा समय अभावले अध्ययन गर्न पाएको थिइनँ अहिले अध्ययन गरिरहेको छु।यसरी लकडाउन अबधि समस्या परेकालाई सहयोगको लागि संयोजन र समन्वय गर्ने काम सगै बचेको समय अध्ययन गरेर बिताई रहेको छु।
• तपाईं लगायत नुवाकोटका जनप्रतिनिधिले हालै नुवाकोटका स्थानीय तहका कोरोना भाइरस विरुद्धको तयारीको अनुगमन गर्नुभएको थियो।सतर्कता तयारी कस्तो पाउनुभयो?
– गत शनिबारका दिन वाग्मती प्रदेशका उपसभामुख माननीय राधिका तामाङका साथ नुवाकोटका स्थानीय निकायहरूको कोरोना भाइरस नियन्त्रण र रोकथाम एवम् उपचारको तयारी अवस्था के कस्तो छ भनी अध्ययन तथा अनुगमन गर्न गएका थियौं।शिवपुरी ,पञ्चकन्या ,दुप्चेश्वर ,तादी गाउँ पालिका र त्रिशूली अस्पताल गएका थियौं । त्यसक्रममा बिदेश र जिल्ला बाहिरबाट गाउँ घरमा फर्कनेहरुको संख्या र तीनका स्वास्थ्य स्थिति , स्थानीय स्वास्थ्य कार्यालयमा जनशक्तिको अवस्था , अौषधी,उपकरण र स्वास्थ्य सामग्री को उपलब्धता र रोकथाम र उपचारको काममा प्रयोग हुने अाइसोलेशन र क्वारेन्टाइन कक्षहरुको निर्माण र व्यवस्थापन के कस्तो छ भन्ने बारेमा र स्थानीय स्तरमा श्रमिक ,मजदुर र असहाय हरुको राहत व्यवस्थापनको तयारीको बारेमा पनि बुझेका थियौं । ती सबै बिषयका तयारीका कामहरु धेरै राम्रो त भन्न सकिन्न तर स्थानीय तहलाई प्राप्त साधन स्रोतको सापेक्षतामा सन्तोषजनक नै पाइयो । अाजको स्थिति सम्म नुवाकोटमा कोरोनाको प्रकोप देखिएको पनि छैन। तर भबिस्यमा केही गरि त्यसको प्रकोप र संक्रमण देखियो भने त्यसको प्रारम्भिक स्तरको रोकथाम र नियन्त्रणको कामहरु गर्न सक्ने भौतिक पूर्वाधारहरु पूरा गर्न सक्ने अवस्था देखिन्छ । त्रिशूली अस्पतालमा Hcu (High care unit) सञ्चालनको लागि अाबश्यक भौतिक पूर्वाधार र अाइसोलेशन कक्षको तयारी उत्साहजनक अवस्थामा पाइयो । जनशक्ति उपलब्धताको हिसाबले सबै स्वास्थ्य चौकिहरुमा माथिबाट हल गर्नु पर्ने अवस्था देखिएको छ।
पहिलो कुरा राहत कसलाई दिने भन्ने कुरामा हामी सबै स्पष्ट हुनु पर्दछ। अहिले राहत दिने भनेको श्रमिक ,मजदुर र समाजका असहाय समुदायलाई हो। जसमा कोको पर्छन् भन्ने कुरा संघीय सरकारले मापदण्ड बनाएर पठाएको छ।
• सरकारले ल्याएको एकद्वार प्रणाली नितिसगै स्थानीय तहमा भित्रिएको राहत सामग्री पीडित समक्ष बिना राजनैतिक हिच्किचाहट पुग्नेमा कतिको बिश्वस्त हुनुहुन्छ?
पहिलो कुरा राहत कसलाई दिने भन्ने कुरामा हामी सबै स्पष्ट हुनु पर्दछ। अहिले राहत दिने भनेको श्रमिक ,मजदुर र समाजका असहाय समुदायलाई हो। जसमा कोको पर्छन् भन्ने कुरा संघीय सरकारले मापदण्ड बनाएर पठाएको छ। तर हाम्रो मानसिकता अलि फरक छ। पक्की घर,धानको भकारी र राम्रो नोकरी र व्यावसाय हुनेहरुले पनि राहत पाउनु पर्छ भन्ने छ। यो परजीवी मानसिकता हो । यदि यो प्रबृत्तिलाई रोक्न सकेनौं भने श्रमजीवी समुदायलाई नै धोका हुनेछ। त्यसको लागि स्थानीय तहका नेतृत्व र अधिकारीहरुले निष्पक्ष र निर्भीक ढंगले काम गर्ने अठोट गर्नु पर्छ । सबै सम्बन्धित सबै राजनीतिक अाग्रह र पूर्वाग्रहबाट मुक्त हुन जरुरी छ। त्यो हिम्मत गरेको स्थितिमा राहत लक्षित समुदायसम्म पुर्याउन सकिन्छ ।असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहाय जस्तै पसलबाट ग्राहकको घरसम्म सामान अोसारपसार गर्ने व्यक्ति ,पर्यटक,भरिया ,निर्माण सामाग्री भरिया,सवारी साधन नचल्ने स्थानमा अावश्यक वस्तु ओसारपसार गर्ने व्यक्ति ,ट्रक,ट्रिपर,भ्यानबाट सामान लोड गर्ने व्यक्ति ,अन्य व्यक्तिको खेतबारीमा काम गरि दैनिक ज्याला लिने व्यक्ति ,अाफ्ना नातेदार बाहेकका अन्य व्यक्तिका घरमा दैनिक बालबालिका ,शिशु ,ज्येष्ठ नागरिक हेरचाह गर्ने व्यक्ति ,गिट्टी कुट्ने ,बालुवा चाल्ने,इटाभट्टामा काम गर्ने मजदुर,नाङ्लो पसले,दैनिक रुपमा फुटपाथ ,ठेलगाडा र साइकलमा सामान बिक्रीवितरण गर्ने व्यक्ति ,मालवाहक सवारी चालक ,डेलिभरी भ्यान सवारी चालक ,रिक्सा तथा ठेलगाडा चालक,सवारी साधनको ग्यारेजमा काम गर्ने मिस्री तथा मजदुर ,अन्य व्यक्तिको गार्मेन्ट,टेलरिङ्ग ,गलैंचा कारखानामा बुट्टा भर्ने तथा जर्ति भर्ने मजदुर,कपडा पसलमा दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति ,स्थानीय तहमा अन्य क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति लगायतका सम्बन्धित ब्यक्ति कोही पनि नछुटुन् र कसैलाई पनि नदोहोरिउन् भनी स्थानीय तहमा एउटै प्रणालीबाट राहत सामाग्री वितरण गर्ने भनिएको छ।स्थानीय तहको अाव्शयकताको अाधारमा अति विपन्न परिवारका सुत्केरी ,बृद्ध/बृद्धा र अपांग तथा असहाय बालबालिकालाई पनि राहत पाउने बर्गमा समाबेश गर्न सकिन्छ ।त्यसको लागि जनप्रतिनिधिहरुले निष्पक्षता, निर्भरता र पारदर्शितामा बिशेष ध्यान दिन जरुरी छ। कुनै एक पक्षले वा एकले गलत मान्छेलाई राहतको लागि सिफारिस गर्छ भने अाफुले पनि त्यस्तै थप मान्छे सिफारिस गरेर प्रतिस्पर्धा गर्ने होइन गलतलाई गलत नै भनेर अौल्याउने र वास्तविक पीडितलाई कसरी बढी भन्दा बढी राहत दिलाउन सकिन्छ भन्ने सोच लिनुपर्छ । अन्यथा अाफ्नो नजिकको मान्छे हेर्ने र गलत मान्छेलाई सिफारिस गर्ने प्रबृत्तिलाई परास्त गर्न सकिएन भने र पीडितलाई बेवास्ता गरियो भने समस्या हल हुदैन समस्या माथि समस्या थप्ने प्रक्रियाको सुरुवात कोहि कसैले नगरौं त्यसैले स्थानीय जनप्रतिनिधि लगायत सबैलाई म फेरि सुझाव दिन्छु अाफ्नो नजिक र टाढाको नहेर्नुस वास्तविक श्रमजीवी ,मजदुर र असहाय जस्तै बृद्ध बृद्धा, अपांग , सुत्केरी , दैनिकी ज्याला मजदुरी गरेर खाने जसको घरमा धान मकै गहुँ कोदो छैन,जागरि र व्यवसाय छैन । राहत नदिए त्यो घरमा भोकमरीले मान्छे मर्न सक्छ त्यस्तालाई लक्षित केन्द्रमा राखेर राहत वितरण गर्नुस भन्न चाहान्छु।
• नुवाकोटको हकमा अहिले आवश्यक क्वारेन्टाइन कक्ष तथा स्वास्थ्य सामग्री पर्याप्त छ कि छैन?
-नुवाकोटमा अाबश्यक परेको खण्डमा जति पनि क्वारेन्टाइन कक्ष निर्माण गर्न सक्ने भौतिक पूर्वाधार छन। यस्तै अवस्था कायम रहेमा विद्यालयहरु पनि खाली छन । विद्यालयका भवनहरुलाई क्वारेन्टाइन कक्षको रुपमा बिकास गर्न सकिन्छ । त्यसलाई अाबश्यक परेको स्थितिमा स्वास्थ्य सामाग्री र उपकरणहरु केन्द्रीत गरि त्यस किसिमका ठाउहरुलाई अाइसोलेशन कक्षमा पनि विकास गर्न सकिन्छ । जहासम्म स्वास्थ्य सामाग्रीको कुरा छ अहिले नै पर्याप्त छ भन्ने स्थिति छैन। अहिले स्वास्थ्य सामाग्री र उपकरणहरु खरिद गर्न एवम् अाइसोलेशन कक्ष र क्वारेन्टाइन कक्षहरुको तयारी गर्न भनी प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई दस लाख रुपैयाँ विनियोजित भैसकेको छ।केही स्वास्थ्य उपकरण र सामाग्री पनि पठाइएको छ। संघीय सरकारले अाकस्मिक कोष खडा गरेको छ।त्यो रकम खर्च गर्न बाकीनै छ। अत्यावश्यक परेको खण्डमा बिकास बजेट तानेर भए पनि कोरोना बिरुद्ध लड्न स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्ने हुन्छ। त्यसैले नुवाकोटमा अहिले स्वास्थ्य सामाग्री पर्याप्त नरहे पनि अवस्था भयावह भैहाल्यो भने त्यस्का विकल्प सोच्न सकिन्छ।
• बाहिरी क्षेत्रबाट आफ्नो गाउँ घर फर्किएर सामुहिक क्रियाकलापमा अभ्यस्त छन मानिसहरु भनिन्छ सरकारले यसबारेमा मानिसलाई सचेत गराउन नसकेको हो?
-बिदेश र जिल्ला बाहिरबाट गाउँ घर फर्कनेहरुलाई सुरुमा सचेत गराउन नसकेको भान भएको थियोे । त्यो स्वाभाविक पनि हो । आफुलाई आफुप्रती शंका भए होम क्वारेन्टाइनमा सुरक्षित रहनुस, अनुशासित भएर बस्नुस अाफुपनि बच्नुस अाफ्नो परिवारलाई पनि बचाउन सहयोग गर्नुस भन्दा आपराधिक अनुभुती गर्थे । तर अहिले स्थानीय प्रतिनिधि , कर्मचारी ,राष्ट्रिय स्वयंसेवकहरु र सञ्चारकर्मीहरुको सामुहिक प्रयत्नले यो स्थिति पार भएको छ। अहिले बाहिरबाट फर्केकाहरुको खास समस्या छैन भन्ने बुझेको छु।
• अन्त्यमा के भन्न चाहानुहुन्छ?
-तपाईंको लोकप्रिय अनलाइन मिडियाले यस्तो संकटपूर्ण अवस्थामा पनि मलाई समसामयिक र महत्त्वपूर्ण सवालहरुमा ध्यानाकर्षण गराउन कुराकानीको समय मिलाईदिनु भएकोमा तपाईलाई बिशेष धन्यवाद दिन चाहान्छु। अाजका दिन सम्म अाउदा बन्द बन्दी (लकडाउन) भएको १८दिन पुरा हुदै छ। यसले अार्थिक र सामाजिक जीवनमा नकारात्मक प्रभाव अवस्य पारेको छ तर हाम्रो सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति भनेको स्वास्थ्य नै हो । अाज बिश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाले समेत दिनानुदिन हजार भन्दा बढी मानव मृत्युको पीडा बेहोर्न बाध्य भइरहेको र बिश्वमा नै कोलाहल मच्चिएको स्थितिमा हाम्रो जस्तो गरीब मुलुकमा केही ब्यक्ति संक्रमित बिरामी हुनु बाहेक मृत्युको पीडा बेहोर्न परेको छैन। यदि त्यो स्थिति सिर्जना भएको अवस्थामा कोरोना भाइरस कोभिड-१९ को बरुद्ध लड्न हामीलाई त्यति सहज पनि छैन । त्यसैले रोग लागेर उपचार गर्ने भन्दा पनि रोग लाग्नै नदिने उपायमा लाग्नु सबैभन्दा उपयुक्त र बुद्धिमान तरिका हो । त्यसको अचुक उपाय भनेको मानव दुरी कायम गर्नु नै हो । अथवा एक मानवबाट अर्को मानव अलग रहनु नै हो ।त्यसैले हामी जो जहा छौँ अनुशासित भएर बसौं भनी अाम जिल्लावासीलाई अनुरोध गर्छु । स्वास्थ्य कर्मी, सुरक्षाकर्मी , सञ्चारकर्मी र स्थानीय जनप्रतिनिधि र कर्मचारीहरुले अहिलेसम्म जे जति पहल र जिम्मेवारी लिनु भएको छ त्यसको लागि धन्यवाद र थप पहलकदमी बढाउन अाग्रह गर्दछु । साथै हिजो सम्म हाम्रो दायित्व कोरोना बिरुद्ध लड्नु मात्रै थियोे भने अाज कोरोना संग लड्दा लढ्दै थपेको श्रमिक ,मजदुर र असहायहरुको भोकमरी पनि हो। यसको उचित व्यवस्थापनको लागि स्थानीय जनप्रतिनिधि , कर्मचारी राजनीतिक दलका कार्यकर्ताहरु सबै मिलेर सामुहिक ऐक्यबद्धताका साथ एकद्वार प्रणालीबाट अघि बढ्न स्मरण गराउदछु र त्यस प्रकारको समस्या संग जुध्न म पनि साथमै छु र साथमै हुने प्रतिबद्धता पनि ब्यक्त गर्दछु।