कोरोनाका कारण नुवाकोटको सिंन्दुरे जात्रा स्थगित



नुवाकोट,चैत-२६।कोरोना भाइरस (कोभिड-१९) का कारण नुवाकोटमा लाग्ने सिंन्दुरे जात्रा स्थगित भएको छ।विगतका वर्षमा यतिबेला नुवाकोटको भैरवी मन्दिर परिसरमा पुजारी, गुभाजु, द्वारे, स्थानीय नेवार समुदाय, लच्याङका तामाङ समुदाय र नेपाली सेना लगायतलाई भ्याइनभ्याइ हुन्थ्यो तर यसपालि भाइरसको महामारीले यस्तो हुन सकेन। शुक्लपूर्णिमाका दिन लाग्ने नुवाकोटको सबैभन्दा ठूलो मेला सिन्दूरे जात्रा सञ्चालनको चाँचोपाँचो मिलाउने देखि सामान्य रौनक समेत देख्न सकिएन।

यो वर्ष कोभिङ–१९) रोगको सङ्क्रमण फैलन सक्ने जोखिमले सरकारले लकडाउन गरेको कारण सिन्दूरे जात्रा स्थगित गरिएकोले जात्रासँग सम्बन्धित सबै आआफ्नो घरघरमा लकडाउनलाई पालना गरी बसिरहेका छन् । यो वर्ष जात्रा चैत २८ गते परेको थियो भने चैत २६ गते चैत शुक्लपूर्णिमा तिथी रहेको छ ।जात्राको शुरु देखिको सबै प्रक्रिया स्थगित गरिएको भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीले बताउनुभयो । ‘सिन्दूरे जात्रा भनेर प्रमुख जात्रा भए पनि चैते दशैँको भोलिपल्ट देखिनै यसको विभिन्न विधि शुरु हुन्छ । यो वर्ष देवीघाट जाने, अक्षता उठाउने, महाबली लिनेजस्ता कुनै पनि कामहरु गरिएनन्’, द्वारे शाहीले भन्नुभयो ।

नुवाकोटको भैरवी मन्दिर र देविघाटको जालपा मन्दिरमा सञ्चालन हुने यो जात्रा नेपालकै धेरै दिनसम्म चल्ने जात्रामध्ये एक हो । लामो रथयात्रा हुने मेलामा पनि यहाँको भैरवीको रथयात्रालाई लिने गरिन्छ । त्रैयोदशीमा लिंगो उठाउने, चतुर्दशीको दिन भैरवीको रथ यात्रासहित देविघाटको जालपा मन्दिर जाने, त्यहाँ पूर्णिमाको दिन बिहान पूजालगायत भोग खाने, परेवाको दिन खाल्चा र द्धितीयको दिन नुवाकोटको भैरवी मन्दिरमा सिन्दूरे जात्रा गरिने यो अवसरमा हजारौँको सहभागिता हुने गर्दथ्यो । रथयात्राको क्रममा बाटोमा रथपूजा र धामीधमिनीको पूजाको लागि हजारौँ सहभागी हुने गर्दथे ।

कोरोनाको जोखिम बढ्ने भएकाले स्थागित गरिएको जात्रा गुभाजुलाई हेराएर वैशाख शुक्ल पूर्णिमामा पनि गर्न सकिने भएकाले स्थिति सामान्य भए वैशाखमा मेला गर्न सकिने द्वारे शाहीले बताउनुभयो । सिन्दूरे जात्रा २०११ सालमा तत्कालीन राजा त्रिभुवनको निधन हुँदा स्थागित भएको थियो ।

हजाराँै जात्रालु जिल्लाभर र अन्य जिल्लाबाट पनि आउने मेला भएकोले अहिलेको अवस्थामा स्थगित गर्नुको विकल्प नभएको नुवाकोट सम्पदा मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्