कोइला बालेर सुतेका आमा र छोराको ज्यान गयो
वीरेन्द्रनगर,पुस ४ । सुर्खेतको वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ। वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका आमा, छोरा र छोरीमध्य आमा र छोराको निस्सासिएर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ३० वर्षीय देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती छन् । गम्भीर घाइते नौ वर्षीया रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
‘बुधबार राती खाना खाएर सुतेका तीन जना बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो,’ उनले भने, ‘प्रहरी पुगेर ढोका फोडेर उहाँहरुलाई तत्कालै अस्पताल पुर्याइएकोे थियो। तर चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरिदिए तर रियाको मुटुको चाल चलिरहेको पाइएपछि सघन उपचार कक्षमा अहिले उपचार भइरहेको छ।’
सुतेको कोठामा झ्याल लगाइएको र तसलामा कोइला बलिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। कोठामा कोइला बाल्दा अक्सिजनको मात्रा कम भएकाले निसासिएर नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।