प्रेमिका हत्या आरोपमा दुई महिनापछि प्रेमी पक्राउ
महोत्तरी, पुस २ । ख्याल ख्यालमै आफ्नो प्रेमिकाकाे हत्या गरेका एक जना आरोपीलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको चक्रघाटा गाउँपालिका ९ कोरिया बस्ने वर्ष २५ को मन्दिपकुमार यादव छन् ।
उनलाई प्रहरीले सूचनाको आधारमा वीरगञ्जबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले पत्रकार सम्मेलनमा यही असोज २३ गते बिहान जिल्लाको बर्दिबास नगरपालिका ५ टुटेश्वर जङ्गलमा तत्काल नाम, थर, वतन नखुलेको महिलाको शव प्राप्त भएको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा आरोपित यादवलाई पक्राउ गर्न सफल भएको जानकारी दिए ।
उनले सो बेला तालिमप्राप्त कुकुरहरु लगाएर घटनास्थलको चेकजाँचसँगै महिलाको सनाखतको लागि कार्यालयको फेसबुक पेज लगायतहरुमा फोटोसहितको विवरण समेत राखिएको बताउनुहुँदै घटनाको पाँच दिनपछि सर्लाहीकै अनु राय रहेको अभिभावकहरुले सनाखत गरेको बताए । अनुले असोज २२ गते अभिभावकहरुलाई म साथी सन्दिपलाई भेट्न वीरगञ्ज जान लागेको जानकारी गराएको तर त्यसपछि उनको शव मात्रै भेटेको अभिभावकहरुले जानकारी दिएको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक जैसवारले जानकारी दिए ।
मन्दिप र अनुसँग कक्षा चारदेखि नै चिनजान र प्रेम रहेको अनुसन्धानमा खुलेको छ । उनीहरुबीच विवाहलाई लिएर वादविवाद हुँदै आएपनि बर्दिबासमा भेटकोबेला ख्याल ठट्टामा अनुले मन्दिपलाई थप्पड हानेपछि मन्दिपले पनि थप्पड हान्दा उनी वेहोस भएको र मन्दिपले सामान बाँध्न प्रयोग हुने डोरीबाट घाँटी कसी हत्या गरेर भागेको प्रहरीले जनाएको छ ।
ख्याल ख्यालमै प्रेमीले प्रेमिकालाई घाँटी कसी मारेर बर्दिबासको टुटेश्वर जङ्गलमा सडकदेखि पूर्वको खोल्सीमा लडाई भागेको अनुसन्धानबाट देखिएको बताउदै प्रहरी उपरिक्षक जैसवारले भने, “पक्राउ परेका मन्दिपले हत्या आफूले गरेको स्वीकार गरेको छ ।”
प्रहरी नायब उपरिक्षक जैसवारले बर्दिबासको विभिन्न ठाउँमा देखिएको सिसिटिभी क्यामरा, फोनको लोकेसन तथा महिनौको अथक प्रयासपछि मन्दिपलाई पक्राउ गर्न सकिएको बताउदै अदालतबाट म्याद थप गरिएको जानकारी दिए ।