बिआरआईले कुनै समस्या आउँदैन, सरकार ढल्दैन : उपप्रधानमन्त्री सिंह
काठमाडौ,मंसिर १५ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईको विषयले सरकारमा समस्या नआउने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बिआरआईमा नेपाली कांग्रेस र नेकपा एमालेबिच फरक मत नरहेको बताए ।
अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै उनले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको बताए । उपप्रधानमन्त्री सिंहले कुनै योजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामा ऋण लिन सकिने भएपनि अहिले नै ऋण लिइहाल्ने अवस्था नरहेको बताए ।प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस–एमालेले संयुक्त रूपमा नै एजेन्डा तयार गरेको पनि उनले बताए । यसअघि चीनले दिने घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्ने पनि उनका भनाइ थियो ।
त्यस्तै, उनले सरकार ढल्छ भनेर अफवाह फैलाइए पनि त्यसमा सत्यता नरहेको दाबी गरे । ‘‘कांग्रेस सभापति शेरबहादुर देउवा बोलीमा इमानदार हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा छ । प्रधानमन्त्रीजीले सहमति अनुसार हस्तान्तरण हुने बतारहेका छन् । सरकारमा समस्या छैन ।’’उनले भने।