रास्वपा गर्भबाटै भ्रष्टाचार बोकेको पार्टी, बालेन गँजेडी
काठमाडौं,मंसिर ८ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक भ्रष्टाचारले आक्रान्त बनेको टिप्पणी गरेका छन् । उनले पूराना दलका नेताहरुले भ्रष्टाचारबारे दिनदिनै प्रष्टीकरण दिनुपरेको सुनाए । नयाँ दल रास्वपापनि त्यसबाट अछुतो नभएको उनको टिप्पणी छ ।
उनले भने,‘अहिले नेपालमा भ्रष्टाचारको महारोग छ। कोरोना भाइरसजस्तै फैलिएको छ । काठमाडौंमा भ्रष्टाचारीहरुको जुलुश निस्किन्छ । भ्रष्टाचारीहरुको डण्डा बर्सिन्छ । भ्रष्टाचारीहरुको भाषण सुन्नुपर्छ । देशमा अहिले मजाक हेर्नुपरेको छ । उनीहरु मैले विदेशमा पैसा लुकाएको छैन् भनेर प्रष्टीकरणमात्रै दिन्छन् । समाजमा अहिले भ्रष्टाचारको आतंक छ । हिजो प्रचण्डजीको सरकार हुँदापनि उनी सरकार ढल्दैन भन्थे, अहिले केपीजीको सरकार छ, उनीपनि सरकार ढल्दैन भन्दैछन् । तर जनतालाई के लागेको छ भने यो सरकार आजै ढल्छ । राति ढल्नसक्छ, भोलि विहान ढल्छ भन्ने लागेको छ। अहिले कोही मान्छे सन्तुष्ट छैनन् । केही नयाँ पार्टी छन्, जो गर्भबाटै भ्रष्टाचार बोकेको छ । एड्स रोगीबाट जन्मिएका सन्तानजस्तो । कोही मान्छे गँजेडी छन्, नायकजस्तो बनेका छन् । उनीहरु जनसेवक अरे, अनि हामी को ?’
नेकपाको ११औं ऐतिहासिक पार्टी पूनर्गठन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीको स्थापनाको औचित्य पुष्टि हुँदै गएको सुनाए । उनले भने,‘नेकपा यहाँ पुग्छ भन्ने कसैलाई पनि विश्वास पनि थिएन होला । तर, अहिले सबै अचम्मित छन् । नेकपाको फरक दृष्टिकोण छ । यो लडाईं थियो । हामी सबै माओवादी नै हौं । यो देशमा रगत बगाएका हौं । हामी लडेर आएका हौं । हामी देशभक्त हौं । नेकपा जनताको हितको लागि बनेको हो ।’
उनले आफूहरुले चाहेको व्यवस्था अहिलेसम्म नआएको गुनासो पोखे । उनले भने,‘०६४ सालपछि हामी नयाँ जीवन चाहन्थ्यौं । माओवादीले जुन दिन विजयी हाँसिल गर्नेछ, जनताले विजयी हाँसिल गर्नेछ । जनताको अनुहारमा मुस्कान छाउनेछ । रगतलाई गौरवको रुपमा बुझ्नेछ । मसिर ८गते जनमुक्ति सेना बनेको दिन हो । नेपालमा सुकुम्बासीको अन्त्य भएको हेर्न चाहन्थ्यौं । जनजातिहरु सत्तामा पुगेको हेर्न चाहन्थ्यौं । युवाहरुले नेपालमै बसेर देश बनाएको हेर्ने हो । २१औं शताब्दीमा जनयुद्ध लडेका युवाहरु यही देशमा बस्नुपर्छ । गणतन्त्रलाई ठूलो उपलब्धिको रुपमा हेर्नुपर्छ । जनताका अधिकार पनि प्राप्त भए । तर, जनताको जीवनमा परिवर्तन भएन । नेपाल देश स्वाधिन भएन । क्रान्तिले पूर्णता पाउन सकेन । नेपाली जनताको व्यवस्था बन्न सकेन । क्रान्ति अधुरो भयो । अधिकार अधुरो भयो । नौजवानले आफ्नो भविष्य अन्धकार भएको महशुस गरे । हाम्रा मान्छेहरुलाई अपमानित हुन दिनुहुँदैन् ।’