बालेन एमालेविरुद्ध परिचालित ब्यक्ति हुन् : महासचिव पोखरेल
काठमाडौं, मंसिर ८ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले काठमाडौं महानगर प्रमुख बालेन शाहले स्टन्टबाजी गरेको आरोप लगाएका छन्।
नेकपा एमालेले शुक्रबार जागरण सभामा फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवाना गरेपछि पोखरेलको यस्तो टिप्पणी आएको हो। उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै भनेका छन्, ‘काठमाडौं महानगरका मेयर बालेन नेकपा (एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आज (शुक्रबार) को सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ।’
उनले कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाटै भएको दाबी पनि गरेका छन्। महासचिव पोखरेलले संकलित फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गर्दा नपठाएको आरोप पनि लगाए।
उनले भनेका छन्, ‘अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा। जतिबेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिबेला स्वंयमसेवकहरू कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए। मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो। तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टबाजीमा थियो। जुन समय अगावै सार्वजनिक गरियो।’
मेयर साहलाई एमाले आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का नभएको पनि भनेका छन्। जागरण सभा स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि भएको उनले उल्लेख गरेका छन् ।