नेपाल जलवायु कोषबाट रकम प्राप्त गर्न योग्य



काठमाडौ,मंसिर ८ । नेपाल जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका लागि अनुकूलन कोषबाट रकम प्राप्त गर्न योग्य ठहरिएको छ । नेपालको संरक्षणकारी निकाय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) लाई अनुकूल कोष (एड्याप्टेसन फन्ड) ले राष्ट्रिय कार्यान्वयन निकाय (एनआइई) का रूपमा छनोट गरेसँगै नेपाल अनुकूलनजन्य कार्यक्रमका लागि कोषबाट बजेट प्राप्त गर्न योग्य ठहरिएको हो । 

जलवायु परिवर्तनको अनावश्यक मार खेपिरहेको नेपालले असर न्यूनीकरण र अनुकूलनका लागि ठुलो वित्तीय अभावको चुनौतीसमेत झेल्दै आएको छ । अनुकूलन कोषबाट प्राप्त गर्ने बजेट तथा कार्यक्रमका लागि छनोट भएसँगै थोरै भए पनि नेपालका लागि राहत पुग्ने विश्वास विज्ञले व्यक्त गरेका छन् । अनुकूलन कोष जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई जलवायु कार्यक्रम र अन्वेषणहरूमार्फत जलवायु उत्थानशीलताका लागि सशक्त बनाउन १७ वर्षअघि स्थापना गरिएको हो । 

कोषले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै अजारबैजानको राजधानी बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा नेपालमा अनुकूलन कोषको रकम ल्याउन नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई छनोट गरेको कोषका जलवायु महाशाखा प्रमुख डा. मनिषराज पाण्डेले जानकारी दिए । अनुकूलन कोषले राष्ट्रिय कार्यान्वयन निकायका रूपमा नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पहिलो पटक छनोट गरेको उनले प्रस्ट पारे । उनका अनुसार यो छनोटले जलवायु अनुकूलनसम्बन्धी परियोजना निर्माणदेखि कार्यान्वयनका लागि सहज बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्