भ्रमणले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास



चीन,मंसिर ६ । नेपाल र चीनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले दुई देशको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।  

चीनको राजधानी बेइजिङमा आयोजित औपचारिक कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा (एमाले) का नेताहरुले सो विश्वास व्यक्त गरेका हुन्  । बेइजिङमा सम्पन्न दुईपक्षीय भेटवार्तामा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने बताए । 

उक्त भ्रमणमा नेपाल र चीनविच भएका पुराना सम्झौताहरुको कार्यान्वयनका लागि ठोस योजना बन्ने र आपसी सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ समझदारी हुने उनले विश्वास व्यक्त गरे । 

चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख मन्त्री लिउ चियानछाओले नेपालका प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट चिनिया र नेपाली जनताले ठुलो अपेक्षा गरेको बताउँदै दुई देश र पार्टीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेबारे छलफल हुने अपेक्षा गरे । 

त्यसअघि विदेश विभागका उपमन्त्री सन हाईयानले दुई देशहरु एकअर्काका अनुभवबाट सिक्दै, सहयोग गर्दै अघि बढ्ने बताए । विभागका डाइरेक्टर जनरल फङ सिउपिनले प्रधानमन्त्री ओलीको भ्रमणअघि आएको नेपाली टोलीका कारण भ्रमणलाई सफल पार्न र तयारीबारे छलफल गर्न सहज भएको बताए ।  

प्रतिक्रिया दिनुहोस्