डिपो बस्तीले घेरिँदा उच्च जोखिम



धनगढी, कात्तिक २४ । कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित नेपाल आयल निगमको इन्धन डिपो सार्न नमिल्दा उच्च जोखिममा रहेको छ । नेपाल आयल निगमले यस्तो समस्या रहे पनि डिपो सार्नका लागि जग्गा व्यवस्थापन नभएको जनाएको छ । 

घनाबस्तीनजिक डिपो रहेकाले पनि सुरक्षाको दृष्टिले उच्च जोखिममा देखिएको हो । २०३७ सालमा स्थापना भएको सो डिपो आसपास बस्ती थिएन तर हाल बस्ती भरिएको र मुख्य सडक नजिक रहेकाले असुरक्षित बनेको हो । डिपो मुख्य सडक छेउमा रहेको एक बिघा आठ कट्ठामा फैलिएको छ । डिपोको पर्खाल वरिपरि स्कुल, अस्पतालसँगै मानव बस्तीले घेरिएको छ । 

सोही कारण धनगढी उपमहानगरपालिका–३, चटकपुर निवासी धर्मसिंह–माधवी ऐरका परिवारलाई डिपोनजिक घर हुँदा रातमा निद्रा पर्दैन । माधवी ऐरले भने, “जग्गा किन्ने बेला डिपो नै थिएन, अहिले चिन्तामै बाँचिरहनुपरेको छ ।” 

स्थानीय केशव भट्टले डिपोका कारण स्थानीय सधैँभर त्रसित अवस्थामा बस्नु परेकाले डिपो स्थानान्तरणका लागि पटक पटक सरोकारवालालाई आग्रह गरिएको बताए । उनले भने, “डिपो नजिक भएका कारण घरमा आगो बाल्न पनि डराउनु पर्छ । विवाह, पूजा जस्ता शुभकार्य गर्दा झनै अत्यास हुन्छ ।” केही वर्षअघि डिपो नजिकै रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेको स्थानीय देवकी न्यौपानेले बताए । डिपो नजिक हुँदा कतिबेला के हुन्छ त्रसित भएर बस्नु परेको उनको भनाइ छ । 

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल मुख्य बजारको बिचमा रहेको डिपोका कारण सुरक्षा चुनौती बढेको बताउछन्  । डिपो नजिक स्कुल, अस्पताल, बस्ती बाक्लो हुँदै दुर्घटना भयो भने ठुलो क्षति हुन सक्ने उनले बताए । प्रमुख हमालले भने, “निगमलाई डिपो स्थानान्तरण गर्न पत्राचार गरे पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।” 

निगमका उपनिर्देशक प्रदीप यादव डिपो स्थानान्तरणको प्रयास भइरहेको बताउछन्  । “डिपो घना बस्तीका बिचमा डिपो परिसक्यो, अब सार्नुको विकल्प छैन,” उनले भने । निगमले यसअघि समिति नै गठन गरी डिपो स्थानान्तरणका लागि जग्गा खोज्ने काम गरेको थियो । समितिले कैलालीकै टीकापुर र अत्तरिया तथा कञ्चनपुरको पुनर्बास क्षेत्रमा जग्गाको खोजी गरेको गरे पनि टुङ्गो नलाग्दा प्रक्रिया अगाडि बढ्न नसकेको यादवले जानकारी दिए।

निगम प्रादेशिक कार्यालय धनगढीका प्राविधिक इन्जिनियर जगदीशप्रसाद जोशीले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्बास नगरपालिका–३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बेच्ने प्रस्ताव अघि बढाए पनि जग्गा खरिदमा भने अन्योल देखिएको बताए  । डिपो साँघुरो हुँदा तेल बोक्ने ट्याङ्कर नजिकै रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जग्गामा भाडा राख्ने गरेको जोशीले जानकारी दिए । 

एक सातालाई पुग्ने भण्डारण 

सरकारले प्रत्येक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम भण्डारणगृह निर्माण गर्ने योजना बनाएको छ । हाल धनगढीमा रहेको डिपोको क्षेत्रफल साँघुरो र बस्ती नजिक रहेकाले भण्डारण क्षमता थोरै छ । 

कार्यालयका अनुसार डिपोमा हाल डिजेल भण्डारणका लागि ७६० किलोलिटरका दुई वटा ठाडा ट्याङ्की र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि ७६० किलोलिटरको एक ठाडो ट्याङ्की र ७० किलोलिटरको भूमिगत ट्याङ्कीसहितका संरचना छन् । 

धनगढी डिपोबाट अहिले दैनिक एक सय किलोलिटर पेट्रोल, तीन सय किलो लिटर डिजेल तथा न्यून मात्रामा मटितेल बिक्री हुँदै आएको छ । भण्डारण क्षमता बढाउन सकिएन भने आपूर्तिमा अवरोध हुँदासाथ बजारमा तेलको आपूर्तिमा असहज हुने देखिन्छ । डिपोमा हाल सुदूरपश्चिम प्रदेशका लागि सात दिनको मात्रै माग धान्ने भण्डारण क्षमता रहेको छ । धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने गरेको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्