मध्य इजरायलमा आक्रमणबाट १९ जना घाइते



जेरुसलेम, कात्तिक १८ । इजरायली सेनाले लेबनानबाट मध्य इजरायलतर्फ तीन प्रक्षेपण गरिएको बताएको छ । इजरायलको शारोन क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा १९ जना घाइते भएको प्रहरीले शनिबार बिहान जानकारी दिएको छ। इजरायली प्रहरीले १९मध्ये चार जनाको ‘मध्यम अवस्था’ रहेको र सबैलाई उपचारका लागि अस्पताल लगिएको थप जानकारी दिएको छ ।

इजरायलको मागेन डेभिड अडोम (एमडिए) आपत्कालीन चिकित्सा सेवाले यसअघि केन्द्रीय शहर तिरामा भएको आक्रमणमा ‘छर्राले घाइते भएका २० वर्षीय एक पुरुष’ सहित केही व्यत्ति घाइते भएको जनाएको थियो।

इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जालमा पोस्ट गरेका भिडियोहरूमा एउटा भवनबाट सडकमा आगो र धुवाँ फैलिएको र आपत्कालीन टोलीहरू घटनास्थलमा जम्मा भएको देखाइएको छ।

“यो इजरायलको अरब शहर तिरामा हिजबुल्लाहको रकेट प्रत्यक्ष आक्रमणको परिणाम हो, आक्रमणमा १९ नागरिक घाइते भएका छन्”, मन्त्रालयले पोस्टमा भनेको छ, “हिजबुल्लाह समाप्त नभएसम्म हामी विश्राम गर्न सक्दैनौँ र गर्ने छैनौँ ।”

इजरायली सेनाले टेलिग्राममा लेबनानबाट दागिएका तीन प्रक्षेपणमध्ये केही रोकेको जनाएको छ। मुख्यतया तल अभिवबाट २५ किलोमिटर उत्तरपूर्वमा रहेको अरब बाहुल्य शहर तिरा कब्जा गरिएको पश्चिम किनारको सीमा नजिक अवस्थित छ।

गाजा पट्टीमा भइरहेको युद्ध लेबनानसम्म फैलिएको छ । यहाँ इजरायलले प्यालेस्टिनी समूह हमासको सहयोगी हिजबुल्लाहविरुद्ध हवाई आक्रमण गरिरहेको छ।

इजरायली तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७मा हमासले इजरायलमा गरेको घातक आक्रमणपछि हिजबुल्लाहसँगको सीमापार गोलीबारी आदानप्रदान सुरु भएयता इजरायली पक्षमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । बिहीबार लेबनानबाट गरिएको रकेट आक्रमणमा उत्तरी इजरायलको मेतुलामा चार थाई किसानसहित सात जनाको मृत्यु भएको थियो ।

एएफपीले सङ्कलन गरेको इजरायली आधिकारिक तथ्याङ्कअनुसार हमासको अक्टोबरको आक्रमणमा धेरैजसो नागरिक गरी एक हजार दुई सय छ जनाको मृत्यु भएको थियो।

इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार दुई सय ५९ प्यालेस्टिनीको मृत्यु भएको छ, । तीमध्ये धेरैजसो नागरिक छन् । यो तथ्याङ्क हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयको हो र यसलाई संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मानेको छ। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्