गीत–सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री
काठमाडौं,फागुन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताए ।
मङ्गलबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले उनको योगदान मुलुकका लागि महत्त्वपूर्ण रहेको स्मरण गरे । उनले स्व. आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।
प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जलि अर्पण चलिरहेको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियोे ।