पाकिस्तानी सेनाले कसरी शुरु गर्‍यो व्यापार ?



काठमाडौं,फागुन ८ । पाकिस्तानमा अहिले निर्वाचन सकिएर नयाँ सरकार बनाउने होडबाजी चलिरहेको छ । यस्तोमा त्यहाँ कसले नयाँ सरकार बनाउलान् भन्ने चासो त देखिन्छ नै ।यससँगै त्यहाँ अर्काे विषय पनि ‘गरमागरम’रूपमा उठिरहेको छ । त्यो हो– सेनाको कामबारे मुख्य न्यायाधीश काजी फैस इसाको टिप्पणी । उनले केही दिनअघि सुनुवाईका क्रममा टिप्पणी गरेका थिए– सेनाको काम व्यापार गर्ने होइन, देशको रक्षा गर्ने हो । 

उनको यो टिप्पणीपछि सेनाले गर्ने कामको विषय फेरि राष्ट्रिय बहस बनेको छ । हुन त यो विषय सन् २००७ यता बेलाबेला उठ्ने गरेको छ । 

सन् २००७ मा परवेज मुसरफको शासनकालमा यो विषयले व्यापक चर्चा पाएको थियो । आयसा सिद्दिकीको ‘मिलेटरी इन्क, इनसाइड पाकिस्तान मिलेटरी इकोनोमी’ किताब सार्वजनिक भएपछि कयौं हप्ता उक्त विषय राष्ट्रिय बहस बनेको थियो । उक्त किताबले पाकिस्तानी सेनाको बिजनेस मोडलको खुलासा गरेको थियो। मिडिया रिपोर्टका अनुसार पाकिस्तानी सेना हरेक वर्ष अर्बाैं रुपैयाँको व्यापार गर्छ । र, धेरै मुनाफा कमाउँछ ।

पाकिस्तानमा सेनाले कसरी थाल्यो व्यापार ? 

सेनाले सन् १९५८ बाट व्यापारमा हात हाले पनि यसको शुरुआत भने सन् १९५४ बाट भएको थियो । सन् १९५१ मा देशको प्रमुख बनेका मोहम्मद अयूब खानको कार्यकालमा सेनाले वेलफेयर फाउन्डेसन खोलेपछि यसको अध्यायको शुरुआत भएको थियो । 

आयसाको किताबमा लेखिएको छ, ‘पाकिस्तानको सेनाले सन् १९५४ मा वेलफेयर फाउन्डेसन शुरु गरेको थियो । सन् १९५४ मा आर्मी चिफ जनरल अयूब खान र डिफेन्स सेक्रेटरी मेजर जनरल इस्कंन्दर मिर्जाले सेनाको फाउन्डेसन बनाए । यसका लागि उनीहरूले ब्रिटिशबाट पाएको फण्ड प्रयोग गरेका थिए ।’ 

दोस्रो विश्वयुद्ध (भारतबाट पाकिस्तान छुट्टिनुअघि)मा भारतको सेना ब्रिटिशको तर्फबाट लडेकोले ब्रिटिशले ‘पोष्ट वार सर्भिस’का रूपमा पाकिस्तानलाई पैसा दिएको थियो । त्यसको अधिकतम हिस्सा पाकिस्तानको सेनाले पाएको थियो । त्यही पैसाबाटसेनाले फाउन्डेसन बनाएको थियो । फाउन्डेसन बनाउनुको उद्देश्य थियोे– अवकास पाएका सेनाको कल्याण र लडाइँमा ज्यान गुमाएका सेनाका परिवारलाई सहयोग गर्नु ।

बिस्तारै यो कोषमा पैसा थुप्रियो । त्यसपछि सन् १९५८ मा सेनाले उक्त रकम व्यापारमा प्रयोग गर्न थाल्यो ।

सन् १९५८ मा पाकिस्तानको पहिलो राष्ट्रपति सिकन्दर मिर्जाले संसद भंग गरे । साथै उनले प्रधानमन्त्री फिरोज खानको सरकारलाई बर्खास्त गरे । मिर्जाले रातारात मार्शल ल लागू गरी सेनाको कमाण्डर इन चिफ जनरल अयूब खानलाई देशको बागडोर सुम्पिए । त्यसको १३ दिनपछि अयूब खानले नै राष्ट्रपतिलाई पदबाट हटाए । र, सत्ता आफ्नो हातमा लिए । 

यससँगै सेनालाई त्यहाँको अर्थव्यवस्थामाथि दख्खल गर्ने अवसर पनि मिल्यो । आयसाले आफ्नो किताबमा लेखेकी छन्, ‘त्यसपछि सेनाले व्यापारमा कदम राख्यो । र, आर्थिकरूपमा पनि देशको रक्षा गर्नसक्ने कुरा आमजनतालाई भरोसा दिलायो ।’

अयूब खान राष्ट्रपति बनेपछि पूरै राजनीतिक शक्ति सेनासँग आयो । सेनाले शासन आफ्नो हातमा त लियो । र, उत्पादन तथा जमिनको व्यापारमा हात हाल्यो । 

सन् १९७१ मा जुल्फिकार अलि भुट्टो पाकिस्तानको चौथो राष्ट्रपति बने । उनी देशमाथि सेनाको नियन्त्रण हटाउन चाहान्थे । उनको नीतिले सेनाको व्यापारमा केही हदसम्म नोक्सानी पुर्यायो । तर, ४ जुलाई १९७७ मा जुल्फिकार अलि भुट्टोको सत्ता पल्टियो । भुट्टोलाई हटाएर जनरल शीया उल हक राष्ट्रपति बने । र, फेरि देशमा सैन्य सरकार आयो । 

उनले १० वर्षभन्दा बढी शासन गरे । जनरल परवेज मुशरफले पनि ७ वर्षभन्दा बढी शासनसत्ता चलाए ।उनीहरूको शासनकालमा सेनाले निकै राम्रो व्यापार गर्याे । सेनाले व्यापार गर्ने सिलसिला आजसम्म चलिरहेको छ ।

कुन–कुन व्यापार गर्छ सेनाले ? 

सेनाको फाउन्डेसनका अनुसार उनीहरूको पूर्ण स्वामित्वमा ४ ठूला व्यापार चल्ने गरेका छन् । ती हुन्– फुड, फाउन्डेसन ग्यास, ओभरसिज इम्प्लोयमेन्ट सर्भिस र सेनाको फाउन्डेसन एक्सपेरिमेन्ट एण्ड सीड फार्म । 

यसको शतप्रतिशत फाइदा सेनाको फाउन्डेसनलाई हुने गरेको छ । यसका अलावा अन्य व्यापारमा पनि सेनाको हिस्सा छ । यस्तै सेनाले कृषि उपज, सिमेन्ट उत्पादन गर्दै आएको छ । यसका अलावा सेनाले घरजग्गाको कारोबार (रियल इस्टेट)मा पनि हात हालेको छ । डेरी फर्ममा पनि सेनाको हिस्सेदारी छ । उसले देशको कयौं हिस्सामा स्कुल र कलेज पनि चलाउने गरेको छ । 

पाकिस्तानी वायुसेनाले शाही फाउन्डेसनको नामबाट केही धन्दा चलाउने गरेको छ । यसमा शाही एयरपोर्ट सर्भिसेस, शाही एरोट्रेड, शाही कम्पलेक्स आदि छन् । 

सेनाको बिजनेसमा प्रवेशबारे पाकिस्तानका सिनियर पत्रकार एजाज शैयद भन्छन्, ‘यसको पृष्ठभूमि लामो छ । धेरैजसो व्यापार आर्मी बेनेफिट ट्रष्टको प्लाटफर्मबाट हुने गरेको छ । सन् १९६० मा जो पाकिस्तान सेनाको प्रमुख थिए, उनको कार्यकालमा पनि थोरै व्यापार शुरु भएको थियो । तर, धेरैजसो काम जनरल जउल उलहकको कार्यकालमा शुरु भयो । उनको कार्यकालमा यसलाई अगाडि बढाइयो । पाकिस्तानमा तीन प्रमुखको कार्यकालमा व्यापार अघि बढाइयो ।’

जुलाई २०१६ मा पाकिस्तानी सेनाले पेस गरेको एक रिपोर्टमा सेना २ लाख ४० हजार करोड भारतीय रुपैयाको व्यापार गर्ने गरेको छ । यसमा ५० भन्दा धेरै धन्दा छन् । सन् २०२३ सम्म सेनाले ३ लाख २० हजार करोड भारतीय रुपैयाको व्यापार गरेको आँकलन गरिएको छ । 

सरकारले पाकिस्तानी सेनालाई ८ शहरमा २ लाख करोडभन्दा बढी भारतीय रुपैयाँको जमिन सेनाको प्रयोगका लागि दिएको थियो । तर, कयौं क्षेत्रमा हाउजिङ र व्यापार शुरु गर्याे । सेनाले जमिनको प्लटिङ गरेर बेच्न थाल्यो । त्यसपछि सेनाको आलोचना भयो ।

आयसा सिद्दिकाले आफ्नो किताबमा दाबी गर्छिन्, ‘पाकिस्तानको १२ प्रतिशत जमिन सेनाको हातमा छ । यसकारण पाकिस्तानमा सेनालाई सबैभन्दा ठूलो ‘ल्याण्ड ग्राबर’ भनिने गरिएको छ ।’ 

अब एक प्रश्न उठ्न सक्छ– सेना व्यापारमा जोडिनुमा समस्या के छ ? यसमा तीन समस्या छन् । पहिलो, भ्रष्टाचार । जानकार भन्छन्– सेना आफ्नो व्यापारलाई बढाउन भ्रष्टाचारको सहारा लिइरहेको छ । 

सन् १९४७ देखि अहिलेसम्म ७२ जना ठूला अफिसर भ्रष्टाचारको मामिलामा निलम्बन भइसकेका छन् । इमरान खानको प्रधानमन्त्रीत्वकालमा ६ जना सेनाका अफिसरमाथि जाँच भएको थियो । 

सन् २०२१ म सार्वजनिक एक रिपोर्टअनुसार पाकिस्तानका २५ जना सेनाका रिटायर्ड अफिसरको स्विस बैंकमा खाता छ । यी खातामा ८० हजार करोड भारतीय रुपैयाँ जम्मा छ । 

पनामा पेपर्समा रिटायर्ड लेप्टिनेन्ट जनरल शपाहक शाहको लण्डनमा ५ हजार करोड भारतीय रुपैयाँको सम्पत्ति रहेको खुलासा भएको थियो । आईएसआईको पूर्वप्रमुख मेजर जनरल नुशरत नइमको २ हजार ७०० करोडको कम्पनी रहेको खुलासा भएको थियो । 

दोस्रो, एलिट कल्चरको शुरुआत । सेनाको तौरतरिकाले छुट्टै कल्चरको शुरुआत भइरहेको छ । पाकिस्तानमा दुई तप्का भइसकेका छन् । यस्तो सबै देशमा हुन्छ । तर, पाकिस्तानमा सेनाको अधिकारीका बच्चा एलिट वर्गमा आउँछन् । उनीहरूको स्कुल, कलेज र अस्पताल अलगअलग हुन्छन् ।

तेस्रो, व्यापारका कारण सेनाको फोकस आफ्नो खास कामबाट हटेको छ । सर्वाेच्च अदालतमा हालै भएको टिप्पणीमा पनि यसको आशय व्यक्त गरिएको छ । 

तर, पाकिस्तानका सिनियर पत्रकार शैयद भने सेनाले गरेको व्यापार कानूनीरूपमा उचित भएको बताउँछन् । उनी भन्छन्,‘पाकिस्तानको सर्वाेच्च अदालतमा यस्ता मुद्दा आउने गरेका छन् । यो सर्वाेच्चमा पहिलो पटक परेको भने होइन । उच्च अदालतले पनि यस्तो कुरा भन्ने गरेको छ । तर, सेनाले जुन भूमिका निर्वाह गर्छ, त्यसको ‘लिगल जस्टिफिकेसन’ आवश्यक हुन्छ । यसमा सेनाको कारोबार ‘लिगल्ली जस्टिफाइड’ (कानुनीरूपमा उचित) छ ।’ द लल्लनटपको सहयोगमा

प्रतिक्रिया दिनुहोस्