आम निर्वाचन चलिरहेका बेला दक्षिणपश्चिम पाकिस्तानमा विस्फोट : दूई सुरक्षाकर्मीको मृत्यु आठ घाइते
इस्लामावाद,माघ २६ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार दिउँसो भएको विस्फोटमा कम्तीमा दुई सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । चिनियाँ न्युज एजेन्सिलाई सिन्ह्वालाई उद्धृत गर्दै राससले खबर सम्प्रेषण गरेको छ ।
प्रान्तको खारान जिल्लाको लिजजय क्षेत्र नजिकै अर्धसैनिक बलको गाडीमा आक्रमण भएको सरकारी अधिकारीले सिन्ह्वालाई बताए । आम चुनावका लागि जिल्लामा रहेको मतदान केन्द्रको सुरक्षामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो । आक्रमणपछि उद्धार टोली प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगी घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए ।
स्थानीय प्रहरीले सडक किनारमा इम्प्रोभाइज्ड विस्फोटक उपकरण राखिएको र रिमोट–नियन्त्रित उपकरणले विस्फोट गरेको बताएको छ । घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।