चीनमा शीर्ष वित्तीय नियामक प्रमुख बर्खास्त
बेइजिङ (चीन),माघ २५ । विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र चीनको बजार हालैका महिनामा वैश्विकस्तरमा सबैभन्दा खराब प्रदर्शनमा परेपछि चीनले आफ्नो शीर्ष वित्तीय नियामक प्रमुखलाई हटाएको सरकारी सञ्चारमाध्यमले बुधवार बताएको छ ।
सत्तारूढ कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वले यी हुइमानलाई मुलुकको शीर्ष वित्तीय नियामक सेक्युरिटिज रेगुलेटरी कमिसन (सीएसआरसी)को प्रमुखबाट हटाएको सरकारी प्रसारक सीसीटीभीले बताएको छ ।
साङ्घाई र हङकङका शेयर बजारहरूमा सरकारी विक्रयलाई लिएर बेइजिङ चिन्तित भएको छ । यी बजारले मूल्याङ्कनमा खर्बौं गुमाएका छन् र उक्त पराजयलाई रोक्नका लागि धेरै उपाय सार्वजनिक गरिएको छ ।
इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनका पूर्वअध्यक्ष यीलाई सन् २०१९ जनवरीमा सीएसआरसीमा शीर्ष पदमा नियुक्त गरिएको थियो ।
सरकारी सञ्चारमाध्यमका अनुसार यीले लियु शियुको स्थान लिएका थिए । लियुलाई ‘कानून र अनुशासनको उल्लङ्घन’ गरेको आरोपमा बर्खास्त गरिएको थियो र अनुसन्धान गरिएको थियो ।
एक आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष चीनले तीन दशकमा आफ्नो सबैभन्दा कम वृद्धि दर (पाँच दशमलव दुई प्रतिशत) हासिल गरेको छ । यसमा केही अर्थशास्त्रीले सन्देह प्रकट गरेका छन् ।
मुलुकले गम्भीर सम्पत्ति सङ्कट, सुस्त खपत र वैश्विक उथलपुथलको सामना गरिरहेको छ । अधिकारीहरूमाथि व्यावसायिक गतिविधि पुनः शुरु गर्न र उपभोक्ताहरूलाई पुनः खर्च गर्न थप प्रोत्साहन कदम सार्वजनिक गर्न दबाब छ ।
मङ्गलवार प्रमुख वित्तीय संस्थानहरूमा चीन सरकारको हिस्सा राख्ने एकाइ सेन्ट्रल हुइजिन इन्भेस्टभेन्टले कोषमा लगानी बढाउने बताएपछि हङकङ र साङ्घाईमा स्टक बढ्यो । सीएसआरसीले दीर्घकालीन कोषबाट थप कार्य गर्न आग्रह गर्ने र सूचीबद्ध कम्पनीहरूबाट पुनः खरीद बढाउन आह्वान गर्ने घोषणा गरेपछि सेन्ट्रल हुइजिन इन्भेस्टमेन्टले कोषमा लगानी बढाउने बताएको हो । रासस/एएफपी