दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार भुटानमा, बढी अफगानिस्तानमा !
काठमाडौं,माघ १७ । दक्षिण एसियामा भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलवार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२३ यस्तो देखाएको हो ।
सूचकांकअनुसार सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा भुटान छ । त्यसपछि क्रमशः भारत, माल्दिभ्स, नेपाल, श्रीलंका, पाकिस्तान र बंगलादेश छन् । अफगानिस्तान भने दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने देश भएको छ ।
विश्वव्यापीरूपमा भने भुटान २६ औं स्थानमा छ, उसले १०० मा ६८ अंक पाएको छ । विश्वका १८० देशमध्ये भारत र माल्दिभ्स समान ३९ अंकसहित ९३ औं स्थानमा, नेपाल ३४ अंकसहित १०८ स्थानमा, श्रीलंका ३४ अंकसहित ११५ औं स्थानमा, पाकिस्तान २९ अंकसहित १३३ औं स्थानमा र बंगलादेश २४ अंकसहित १४९ औं स्थानमा छन् । अफगानिस्तान भने २० अंकसहित १६२ औं स्थानमा छ ।
उक्त सूचकांकमा ० पाउनेले सबैभन्दा बढी भ्रष्ट र १०० अंक पाउनेले सबैभन्दा स्वच्छ रहेको देखाउँछ ।