गाउँ रित्तिँदै गएकामा राष्ट्रपति पौडेल चिन्तित
काठमाडौं,पुस ११ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मंगलबार उनले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह गरे ।
‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिँदै छन् ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ,’ राष्ट्रपति पौडेलले भने । उनले शिक्षा र रोजगारीका लागि दैनिक हजारौं नेपाली नागरिक ताँती लागेर विदेशिने क्रमलाई रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको बताए ।
राष्ट्रपति पौडेलले कुनै पनि देशको शिक्षा सामाजिक, आर्थिक अवस्था र आवश्यकताअनुरूप निर्धारण हुनुपर्नेमा जोड दिँदै बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु¥याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव दिए । ‘यसका लागि सामूहिक प्रयत्न जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाबाट हुन आवश्यक छ,’ उनले भने।
समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति प्रा. डा. शिवलाल भुसालले नयाँ संस्था स्थापना गर्नेभन्दा पनि भएको संस्थालाई सबलीकरण गरेर जानुपर्ने बताए । विश्वविद्यालयले राज्यको उत्पादनसँग जोड्ने योजना बनाउनुपर्नेमा जोड दिँदै उनले पढ्दै, सिक्दै र आर्जन गर्दै जाने वातावरण सिर्जना गरिनुपर्ने उल्लेख गरे । ‘राज्यको योजनामा विश्वविद्यालयलाई जोडेर लैजान सकेमात्रै उपलब्धि हासिल हुन्छ,’ उनले भने ।
विसं २०१६ पुस १० गते स्थापना भएको सरस्वती बहुमुखी क्याम्पसमा हाल दुई सयभन्दा बढी प्राध्यापक र २५ कर्मचारी कार्यरत छन् । सो क्याम्पसमा स्नातक र स्नातकोत्तर तहअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा करिब सात हजार विद्यार्थी अध्ययनरत छन् । रासस