पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण : २३ जनाको मृत्यु



पाकिस्तान,मंसिर २६ । पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीबानले लिएको छ । 

परिचय नखुलाउने सर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दे बिहानको समयमा आक्रमण भएको बताएका छन् ।

उहाँका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरू सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भए तापनि, मृतृककहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ । 

विस्फोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गराउँदा अन्य २७ जना घाइते भएको समेत  बताइएको छ । विस्फोटको कारण शिविरका तीनवटा कोठा भत्किएका छन् भने भग्नावशेषबाट शव निकाल्ने कार्य भइरहेको छ । मृतकको सङ्ख्या बढ्ने आङ्कलन गरिएको छ ।

बिहानको २ः३० मा हमला सुरु गरेको तालीबानसँग सम्बद्ध तेहरिक ए जिहाद समूहले जनाएको छ । सन् २०२१ मा तालिबान सत्तामा फर्किएदेखि पाकिस्तान –अफगानिस्तानका सीमा क्षेत्रमा आक्रमणमा वृद्धि भएको छ । अमेरिकी सेना फिर्ता भएदेखि छेमेकी विद्रोही उत्साहित भएको  विश्लेषकहरूले बताउँदै आएका छन् । पाकिस्तानी द्वन्द्व सुरक्षा अध्ययन संस्थाका अनुसार गत वर्ष तथा २०२३ को सुरुवाती चरणको तुलनामा पछिल्लो समयमा द्वन्द्व झण्डै ८० प्रतिशतले वृद्धि भएको देखिएको छ ।

इस्लामाबादले आक्रमणकारी समूह सीमापारिबाट परिचालित भएको आरोप लगाएको छ । यद्यपि सो आरोप तालिबान सरकारले निरन्तर अस्वीकार गरिरहेको छ । घटना बारे पाकिस्तानी सेनाले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन ।एएफपी

प्रतिक्रिया दिनुहोस्