इजरायल र हमासबीच युद्धविराम : विश्व नेताबाट स्वागत
इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने सम्झौता भएको छ । इजरायल र हमासले गाजामा जारी भीषण युद्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त गर्न बुधबार भएको सम्झौताको घोषणालाई अमेरिका, बेलायत, जर्मनी र चीनलगायतका विश्व समुदायले स्वागत गरेका छन् ।
इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा परी करिब एक हजार २०० जनाको ज्यान जाने गरी भएको आक्रमणमा नवजात शिशुदेखि वृद्धवृद्धासम्मका करिब २४० जनालाई बन्धक बनाइएको थियो ।
इजरायलले गाजामा बमबारी अभियान र स्थलआक्रमणको साथ जवाफी कारबाही शुरू गरेको थियो । हमासको प्रभाव रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली कारबाहीमा बुधबारसम्म हजारौं महिला तथा बच्चाहरूसहित १४ हजार १०० व्यक्तिको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कतार र इजिप्टका नेताहरूलाई सम्झौतामा पुग्न ‘महत्वपूर्ण नेतृत्व’ का लागि धन्यवाद दिएका छन्।
“म असाधारण रूपमा खुसी छु कि यी मध्ये केही बहादुर आत्माहरूको यो सम्झौता पूर्ण रूपमा लागू भएपछि उनीहरूका परिवारसँग पुनर्मिलन हुनेछ,” बाइडेनले बन्धकहरूलाई सङ्केत गर्दै भने।
बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले यो सम्झौतालाई ‘बन्धक बनाइएका परिवारलाई राहत प्रदान गर्ने र गाजामा मानवीय सङ्कटलाई सम्बोधन गर्ने दिशामा महत्वपूर्ण कदम’ भनेका छन् । जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले सम्झौताको स्वागत गर्दै यो सम्झौतालाई गाजाका जनताका लागि महत्वपूर्ण सहयोगका लागि प्रयोग गर्नुपर्ने बताएका छन् ।
जी–२० शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल र प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह ९हमास० बीच भएको सम्झौताको स्वागत गरेको बताएका छन् ।
प्रधानमन्त्री मोदीले आफूले ‘इजरायली बन्धक छुटाउने र गाजामा युद्धविराम गर्ने सम्झौताको स्वागत’ गरेको बताएका हुन् । उनले भने, “जहाँ भए पनि युद्धका कारण सर्वसाधारणको मृत्यु हुनु निन्दनीय घटना हो ।”