इजरायलद्वारा युद्धविराम अस्वीकार



जेरुसेलम,कात्तिक १४ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भने । “यस्तो हुने छैन”, विदेशी पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “इजरायलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।”

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको थियोे । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना मारिएका थिए भने दुई सय ३० नागरिकलाई बन्धक बनाएको थियो ।

त्यसयता इजरायलले हमास शासित गाजाविरुद्ध ठूलो हवाई बमबारी अभियान चलायो । गाजाभित्र भने लामो समयदेखि अपेक्षित स्थल युद्ध भइरहेको थियो । सेनाले उत्तरी गाजा क्षेत्रमा इजरायली पैदल सेनाको तस्बिर जारी गरेको छ । सोमबार प्रत्यक्षदर्शीहरूले गाजाको बाहिरी भागमा ट्याङ्कहरू रहेको बताएका छन् ।

इजरायलले २४ घण्टामा छ सय लक्ष्यमा निशाना बनाएको बताएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो बमबारीमध्येको एक हो । सेनाले हमासबाट हराइरहेकी एक महिलालाई बचाएको बताएको छ । प्रधानमन्त्री नेतान्याहूले युद्धले हमासलाई ‘समाप्त’ पार्ने वाचा गरेका छन् । उनका अनुसार हमास समाप्त भएपछि यस्ता समूहका हमलाहरू दोहोरिने सम्भावना हुँदैन ।

प्रतिक्रिया दिनुहोस्