नुवाकोट शिवपुरीका सूर्यकुमार तामाङ ‘मिस्टर बुल्समेन’को फाइनलमा
नुवाकोट,असोज ६ । चौथो मिस्टर बुल्समेन खुला राष्ट्रिय शारीरिक सुगठनको उत्कृष्ट ६ मा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ६ खोलेगाउँ स्थायी घर भएका सूर्यकुमार तामाङ फाइनलमा पुगेका छन् ।
मिस्टर हिमालयन राष्ट्रिय शारीरिक सुगठन २०७५ को स्वर्णपदक विजेता तामाङ आज हुने फाइनलमा अन्य पाँच जना खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रत्येक दुई वर्षको अन्तरमा हुने प्रतियोगिताको फाइनल शनिबार सानेपास्थित हेरिटेज गार्डेनमा हुने पदकको लागि ७५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नुना गुरुङले जानकारी दिइन् । प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी तौल समूह र ८० केजी तौलमाथि समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका च्याम्पियनले पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक तौलसमूहका विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । पुरुष तथा महिला फिजिकतर्फका विजेतालाई एक लाख, उपविजेता ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैंयाँ प्रदान गरिनेछ ।