अष्ट्रेलियासँग सहकार्यका साथ काम गर्ने चिनियाँ चाहना



सिन्ह्वा,भदौ २१ । चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अष्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका क्रममा आज (बिहीबार) आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकअघि चिनियाँ चाहना सार्वजनिक भएको हो ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार अष्ट्रेलियाका आफ्ना समकक्षी एन्थोनी अल्बानिजसँगको भेटवार्तामा एसिया–प्रशान्त क्षेत्र चीन र अष्ट्रेलियाको साझा स्थल भएको उल्लेख गर्दै आफ्नो देशले अष्ट्रेलियासँग मिलेर काम गर्न चाहेको बताए । उनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति क्यानबेरासँग सहकार्य गर्न बेइजिङ तत्पर रहेको बताए ।

यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले चीनसँगको चिसिएको सम्बन्ध सुधार्न यस वर्षको अन्त्यमा चीनको भ्रमणमा जाने बताएका छन् । सन् २०१६ यता अस्ट्रेलियाका प्रधानमन्त्रीबाट चीन भ्रमण भएको छैन । आसियान शिखर सम्मेलनसँगै आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकमा भाग लिन इन्डोनेसिया आएका अष्ट्रेलियाका प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्रीसँगको भेटपछि चीनका राष्ट्रपतिले आफूलाई बेइजिङ भ्रमणका निम्ति आमन्त्रण गरेको पत्रकारहरूलाई बताए ।

प्रतिक्रिया दिनुहोस्