भारतसँग हार्दा पनि नेपालको प्रशंसा
काठमाडौं,भदौ १९ । एसिया कप अन्तर्गत सोमबार भएको भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन । नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग दस विकेटले पराजित पनि भयो । तर नेपालले विश्वको महाशक्ति टिम भारतविरुद्धको पहिलो खेलमा नै साहसिक ब्याटिङ प्रदर्शन गरेर विश्व व्रिmकेटमा आफ्नो छवि उच्च पारेको छ ।
भारतीय कप्तान रोहित शर्माले टस जितेपछि आफ्ना बलरहरूलाई अभ्यास हुने भन्दै नेपाललाई ब्याटिङका लागि निमन्त्रणा दिए । नेपालले पहिले ब्याटिङ गरेर ४८.१ ओभरमा २३० रन बनायो । जुन श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पिचमा चुनौतीपूर्ण लक्ष्य थियो । भारतले जवाफमा २.१ ओभरमा बिना विकेटको क्षतिमा १७ रन बनाउँदा वर्षाले खेल रोकियो । त्यसपछि भारतले डकवर्थ लुइसको नियम अनुसार २३ ओभरमा १४५ रन बनाउनुपर्ने संशोधित लक्ष्य पाएको थियो । भारतले २०.१ ओभरमा बिना विकेटको क्षतिमा १४७ रन बनाएर लक्ष्य हासिल ग-यो ।
यस नतिजाले भारतलाई समूह ए उपविजेताको हैसियतमा सुपर फोरमा पु-यायो भने नेपाल घर फर्कने भएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो । भारत र पाकिस्तान बिचको खेल पनि वर्षाले रद्द भएपछि दुवै टिमले अङ्क बाँडेका थिए ।
भारतीय कप्तान रोहितले ५९ बलमा छ चौका र पाँच छक्कासहित अविजत ७४ रन बनाए । गिल पनि ६२ बलमा ६७ रन बनाएर आउट भएनन् । उनको पालिमा आठ चौका र एक छक्का सामेल थियो । पानीले भिजेको मैदानमा बललाई ‘ग्रिप’ गर्न गाह्रो हुने भएकाले पनि नेपाली बलरहरूलाई बेफाइदा भएको थियो । जसको फाइदा रोहित र गिलले उठाएका हुन् ।