सूर्यको अध्ययन गर्न भारतद्वारा ‘आदित्य–एल १’ लन्च, धर्तीबाट करीब १५ लाख किमी उचाइमा पुग्ने !



नयाँ दिल्ली,भदौ १७ । ‘चन्द्रयान–३’ ले चन्द्रमामा सफल ल्यान्डिङ गरेपछि भारतको अन्तरिक्ष अनुसन्धान एजेन्सी (इसरो)ले सूर्यको अध्ययन गर्न सोलार मिसन ‘आदित्य–एल १’ को लन्च गरेको छ । इसरोले श्री हरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट शनिवार उक्त मिसन लन्च गरेको हो । 

यो यानले पनि चन्द्रयानजस्तै पहिले पृथ्वीको परिक्रमा गर्नेछ । त्यसपछि तीव्र गतिमा सूर्यतर्फ उडान भर्नेछ ।‘आदित्य–एल १’ यान पृथ्वीबाट करीब १५ लाख किलोमिटर उचाइमा पुग्नेछ । उक्त दूरी पूरा गर्न यानलाई १२५ दिन लाग्ने भारतीय समाचार संस्था अमर उजालाकाे एक समाचारमा उल्लेख छ । 

जबसम्म यो यानले पृथ्वी र सूर्यको गुरुत्वाकर्षण बलमा नियन्त्रण पाउँदैन, तबसम्म यो बीचको एक विन्दु (लैगरेन्ज प्वाइन्ट)मा रोकिनेछ, यो प्वाइन्टलाई वैज्ञानिक भाषामा ‘एल १’ नाम दिइएको छ । त्यहाँबाट उक्त यानले सूर्यको विभिन्न गतिविधि, आन्तरिक तथा बाहिरी वातावरण आदिको अध्ययन गर्नेछ ।

यसअघि संयुक्त राज्य अमेरिकाले यसै प्रकारको एक मिसन ‘एल–२’ क्षेत्रमा (सूर्यको करीब) पठाइसकेको छ । बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्