नेपालको लगातार दोस्रो जित
काठमाडौं,भदौ ६ । नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । बायोमास ओभल रंगशालामा बुधबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो ।
नेपालले सिरिजको पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको थियो । दुई जितसँगै नेपालले चार अङ्क बनाएको छ । लगातार दुई हार खेपेको कुवेत अङ्कविहिन छ । कुवेत पहिलो खेलमा घरेलु टोली मलेसियासँग आठ विकेटले पराजित भएको थियो ।
जितका लागि नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कसवेत निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ५५ रनमा समेटिएको थियो ।कुवेतका लागि जिफा जिलानीले ११ र खादिजा खलिले १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङमा नेपालका इन्दु बर्माले तीन विकेट लिनुभयो । खुशी डंगोलले दुई तथा कविता कुँवर, सीता रानामगर र इश्वरी विष्टले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८९ रन बनाएको थियो ।
नेपालका लागि इन्दु बर्मा र विन्दु रावलले समान २३÷२३ रन बनाउनुभयो । कोजोल श्रेष्ठले अविजित १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा कुवेतका मरियम्मा हैदरले चार विकेट लिनुभयो । मरियम उमरले दुई तथा प्रियदा मुरली र खादिजा खलिलले एक एक विकेट लिए । नेपालले अब सिरिजको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीबिच शनिबार फाइनल खेल्नेछ ।
आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपालले मलेसिया, हङकङ र कुवेत सम्मिलित सिरिज खेलेको हो । नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै खेल्नेछ ।
नेपाल रहेको समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेको छ ।
नेपालले पहिलो खेल ३१ अगस्टमा मलेसिया, दोस्रो खेल सेप्टेम्बर १ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ३ मा भुटान, चौथो खेल सेप्टेम्बर ४ मा कतार र अन्तिम खेल सेप्टेम्बर ६ मा युएईसँग खेल्नेछ ।
समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप छनोट खेल्न पाउनेछन् ।