युएईमाथि नेपालको सहज जित



काठमाडौं,साउन ३ । श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) ‘ए’ माथि सहज जित निकालेको छ । 

कोलम्बोस्थित पी सारा ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई तीन विकेटले हरायो । जितका लागि एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । 

नेपालका लागि कुशल भुर्तेलले ७१ रनको अर्धशतकीय इनिङ्स  खेले । उनले ४३ बलमा नौ चौका र चार छक्काको सहयोगमा उक्त रन जोडेका हुन् । देव खनाल र सन्दीप जोराले २४/२४, गुलसन झाले ११ र रोहित पौडेलले नौ रन बनाए ।

प्रतिस जिसीले आठ र कुशल मल्लले अविजित दुई रन बनाए । ओपनर अर्जुन साउद र पवन सर्राफ शून्य रनमा आउट लिएका हुन् ।बलिङमा युएईका मोहमेद फाराजुद्धिनले पाँच विकेट लिए । मोहमद जवादुल्लाले दुई विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सवै विकेटको क्षतिमा एक सय ५७ रन बनायो । युएईका लागि लोभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए । इथान डिसौउजाले १८, अश्वथा भलथापाले १६, अर्यान्सा शर्माले १४ र जश घियानानीले १३ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्