नेपालले बङ्गलादेशलाई हरायो
काठमाडौं,असार ३१ । बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलले हरायो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । यसअघि बिहीबार भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीले गोल गरे । अञ्जना रानामगरको प्रहार बारमा लाग्दै बाहिरिएको थियो।
बङ्गलादेशकी साम्सुनार र मोनिका चक्माले मात्र गोल गर्न सके । मारिया मण्डा र सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाए । पहिलो खेलमा नेपालका लागि सावित्रा भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीको हार टारिन ।