नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित
काठमाडौं,असार १९ । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । हारसँगै नेपाल आठौं भयो ।
ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा मंगलबार जितका लागि दुई सय ६९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
आयरल्यान्डका लागि कर्टिस च्याम्फरले ६२ र ह्यारी टेकरले ६० रनको अर्धसतकीय इनिङ्स खेले । यस्तै जर्ज डक्रेलले ३३, लोर्कान टुकरले २४, मार्क अडेरले १८, ओपनर एन्डी म्याकब्राइनले १७, ग्रेथ डेनालीले अविजित १६ र पल स्टर्लिङले १५ रन बनाए ।
बलिङमा नेपालका करण केसीले चार विकेट लिए। करणले १० ओभरमा ५८ रन खर्च गर्दै चार विकेट लिएका हुन् । किशोर महतोले दुई तथा गुलसन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६८ रन बनाएको थियो । नेपालका लागि गुलसन झाले अविजित ५७ रनको अर्धसतकीय इनिङ्स खेले ।
नवौँ स्थानमा ब्याटिङ गर्न आउनुभएका गुलसनले ४२ बलमा चार चौका र तीन छक्काको सहयोगमा उक्त रन जोडेका थिए । यस्तै अर्जुन साउदले ४८ र कुशल मल्लले ४४ रन बनाए ।
सन्दीप लामिछानेले ३२ रन बनाए । सन्दीपले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन जोडेका हुन् । कप्तान रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए । ओपनर कुशल भुर्तेल आठ, ज्ञानेन्द्र मल्ल सात र करण केसी चार रनमा आउट भए । किशोर महतोले अविजित एक रन जोडे ।