विश्वकपको सपना अधुरो



काठमाडौं,असार ९ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा पराजित भएसँगै नेपालको सुपरसिक्समा पुग्ने योजना असफल भएको छ ।

यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना पनि सकिएको छ। शनिबार जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गरेको नेपाललाई नेदरल्यान्ड्सले ७ विकेटको फराकिलो अन्तरले पराजित गर्यो ।

नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेट गुमाएर २७.१ ओभरमै पूरा गर्यो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले अर्धशतक प्रहार गरे । उनले ९० रनको योगदान दिए । गुल्सन झाबाट बोल्ड हुनुअघि उनले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै डि लीडले नटआउट ४१ रन जोडे ।

त्यसअघि सन्दीप लामिछानले ब्रिकमजित सिंहलाई ३० रनमा एलबिडब्लूको धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सन्दीपले दोस्रो विकेट लिने क्रममा नेदरल्यान्ड्सका वेस्ली बारेसीलाई ३ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।

सन्दीपले १० ओभरमा २ विकेट लिँदा ६० रन खर्चिए । त्यसअघि नेपाल ४४.३ ओभरमा १६७ रनमै अलआउट भयो । नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले तेस्रो ओभरदेखि विकेट गुमाउन सुरू गरेको थियो ।

नेदरल्यान्ड्सको तीव्र गतिका बलरसामू नेपाली ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन् । नेपालका लािग कप्तान रोहित पौडेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो। कुशल मल्ल २७, भिम सार्की २२, गुलसन झा १५ र दिपेन्द्र सिंह ऐरिले १४ रन थपे। कुशल मल्लले १२ रन बनाए। आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शुन्य रनमा पवेलियन फर्के ।

प्रतिक्रिया दिनुहोस्