एसीसी प्रिमियर कप क्रिकेटको उपाधि नेपाललाई



काठमाडौं,बैशाख १९ । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ । सोमबार र मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

सोमबार टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । खेल स्थगित भएपछि मंगलबार त्यहिँ अवस्थाबाट खेल सुरू भएको थियो । मंगलबार थप ११ रन जोड्दै युएई १ सय १७ रनमा अल आउट भयो ।

युएईका लागि आसिफ खानले ५४, आर्यान लाक्राले २३, कप्तान मुहम्मद वासिमले ११ तथा वसिल हमिदले १० रन बनाए । नेपालका लागि ललितनारायण राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए ।

युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका गुल्शन झाले अविजित ६७ र भिम सार्कीले अविजित ३६ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्