डेढ महीनापछि यूएईसँग घरेलु मैदानमै भिड्दै नेपाल, दोहोर्याउला इतिहास ?
काठमाडौं,बैशाख १७ । गत चैत २ गते (मार्च १६) मा भएको विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध खेलेको नेपालले त्यसको डेढ महीनापछि घरेलु मैदानमै अर्काे ठूलो प्रतियोगिता खेल्दैछ ।
नेपालले त्रिवि क्रिकेट मैदानमा आफ्नो चिरपरिचत प्रतिस्पर्धी यूएईसँग आगामी सोमवार एसीसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनल खेल्न लागेको हो । खेलको विजेता एसिया कपमा छनोट हुनेछ । पछिल्लो खेलमा यूएईलाई पराजित गरेको नेपालले आगामी सोमवार उक्त नतिजा दोहोर्याउला कि नदोहोर्उला ? नेपाली क्रिकेटप्रेमीमाझ चासोको विषय बनेको छ ।
शनिवार वर्षाले प्रभावित दुवै सेमिफाइनलबाट नेपाल र यूएई फाइनल पुगेका हुन् । नेपाल र कुवेतबीचको खेलमा नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा फाइनलमा पुगेको हो भने यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाईे हराउँदै अन्तिम २ मा स्थान पक्का गरेको हो ।
त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि ४२–४२ ओभरमा छोट्याइएको थियो । उक्त खेलमा नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो ।
जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुनः रोकियो ।
कुवेतले २० ओभरसम्म नखेलेकाले खेलको नतिजा डीएलएस प्रणालीबाट गर्न मिलेन । र, नेपाल समूह चरणको विजेताको हैसियतले सोझै फाइनल पुग्यो । नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको थियो । कुवेत भने समूह ‘बी’को उपविजेता भएर सेमिफाइनल पुगेको थियो ।
मुलपानी क्रिकेट मैदानमा भएको अर्काे सेमिफाइनल खेलमा यूएईले ओमानलाई डीएलएस प्रणालीका आधारमा २ रनले पराजित गर्यो । यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाले खेल स्थगित भएपछि खेलको नतिजा डीएलएस प्रणालीबाट गरिएको थियो ।