नेपालले यूएईलाई हरायो, विश्वकपमा पुग्न कीर्तिपुर मैदानमा हुने ४ खेल जित्नुपर्ने



काठमाडौं,फागुन २३ । यूएईमा जारी आईसीसी लिग -२ अन्तर्गत नेपाल, यूएई र पपुवा न्यू  गिनी सम्मिलित त्रिदेशिए श्रृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईलाई पराजित गरेको छ । यो संगै नेपालले विश्वकपको ग्लोबल छनौट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र  बनाउन सक्यो ।

नेपालको ब्याटिङमा भीम शार्कीले सर्वाधिक ७० रन बनाउँदा अरिफ शेखले नटआउट रहँदै ४३ रन बनाएका थिए । कुशल मल्ल ३२ र सन्दिप लामिछानेले २७ रन बनाएका थिए । करण केसीले १७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल र प्रतिस जिसीले समान ११ रन बनाएका थिए । जिसी नटआउट रहेका थिए ।

कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा असिफ सेख ६ रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी पनि ४ रनमै आउट भएका थिए ।

यूएईको इनिङमा भने असिफ खानले सर्वाधिक ८२ रन बनाउँदा आर्यन लाक्राले ५० रन बनाएका थिए । व्रित्य अरभिन्दले १३ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङ तर्फ सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान ३/३ विकेट लिंदा करण केसी, सन्दिप लामिछाने र अरिफ सेखले १/१ विकेट लिएका थिए । 

४१ ओभरसम्म यूएईको नियन्त्रणमा रहेको खेल ४२ औं ओभरमा पुगेपछि दीपेन्द्रसिंह ऐरीले नेपालको पक्षमा ल्याएका थिए । उक्त ओभरको दोस्रो बलमा ८२ रन बनाएर खेलीरहेका असिफ खानलाई आफ्नै बलमा आफैले क्याच आउट गराएका ऐरीले तेस्रो बलमा पनि नयाँ आएका ब्याट्सम्यानलाई आफ्नै हातबाट क्याच आउट गराएका थिए । त्यसपछि खेलमा नेपाल हाबी भएको थियो । उक्त ओभरमा ऐरीले २ रन मात्र  दिएर २ विकेट लिएपछि युएई १७६ रन जोड्दा ८ विकेट गुमाउन पुग्यो । खेलको म्यान अफ  द  म्याच भने ७० रन बनाएका  भीम शार्की भए ।

अब नेपाल, पपुवा न्यू  गिनी र यूएईले समान ४/४  खेल खेल्न बाँकी छन् । नेपालले ४ ओटै खेल जितेमा विश्वकपको ग्लोबल छनौटमा पुग्ने छ । नेपालले यूएई र पपुवा न्यू गिनीसँग समान २/२ ओटा खेल खेल्न बाँकी छ । नेपालले बाँकी सबै खेल घरेलु मैदानमा खेल्ने भएकाले पनि विश्वकपको सम्भावना असम्भव छैन । यस अघि नेपालमा लिगको शीर्ष स्थानमा रहेको स्कटल्याण्ड सम्मिलित श्रृङ्खलाका ४ ओटै खेल जितेर नेपालले घरेलु मैदानमा कमजोर नहुने सन्देश दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्