कम्पनी रजिष्ट्रारमा सेवा लिन सधैं सास्ती, घूस दिएपछि कागजपत्र नपुगे पनि हुन्छ काम
नाम जुधे/नजुधेको हेर्ने बहानामा कर्मचारीले घूस माग्ने सेवाग्राहीको गुनासो
काठमाडौं,साउन ३० । उद्योग, व्यापार र व्यवसायका क्षेत्रमा लगानी प्रवर्द्धन गरी मुलुकको आर्थिक विकासमा गतिशीलता ल्याउन कम्पनी रजिष्ट्रारको कार्यालय स्थापना गरिए पनि कार्यालयले त्यसअनुसार काम नगर्दा सेवाग्राहीले अनावश्यक सास्ती झेल्नुपरेको पाइएको छ ।
नयाँ कम्पनी दर्ता, अद्यावधिकलगायत अन्य सेवा लिन कम्पनी रजिष्ट्रारको कार्यालय पुग्ने सेवाग्राहीलाई समस्या भइरहेको हो । कार्यालयले प्रदान गर्ने सेवा अनलाइनमार्फत नहुँदा कम्पनी दर्ता र अद्यावधिक प्रयोजनका लागि कार्यालयमा दैनिक ठूलो भीड लाग्ने गरेको छ ।
नयाँ कम्पनी दर्ताका लागि पुगेका भक्तपुर, कटुञ्जेका रमेश प्रजापतीले भीडभाडका कारण घण्टौं पर्खिनुपर्ने र त्यतिले पनि नपुगेर कर्मचारीलाई घूस दिनुपर्ने बाध्यता रहेको गुनासो गरे । उक्त कार्यालय स्थापनाको उद्देश्य कम्पनीको सञ्चालन तथा प्रशासनलाई अझ बढी सुगम, सरल बनाउनु पनि हो ।
पुराना कम्पनीको नाम हेर्न घूस
पछिल्लो समय कार्यालयमा दर्ता भइसकेका कम्पनीको नाम नै हेर्न नमिल्ने बनाइएको सेवाग्राहीले गुनासो गरेका छन् । ‘केही समय अघिसम्म दर्ता भएका कम्पनीको नाम कार्यालयको वेबसाइटमा हेर्न मिल्थ्यो,’ एकजना सेवाग्राहीले भने, ‘अहिले नमिल्ने बनाइएको छ, जसले गर्दा नयाँ कम्पनी दर्ता प्रयोजनको लागि नाम जुधे/नजुधेको थाहा पाउन पटकपटक फाँटका कर्मचारी गुहार्नुपर्ने बाध्यता छ ।’
प्रजापती दर्ता भइसकेका कम्पनीको नाम गोप्य राख्नुपर्ने कुनै कारण नभएको ठान्छन् । कुनै व्यक्ति जन्मिएपछि नामको आवश्यकता परेजस्तै कम्पनीको पनि नाम चाहिने उल्लेख गर्दै उनले नाम हेर्न नमिल्ने व्यवस्थाले सेवाग्राहीलाई अनावश्यक दुःख हुनुको साथै संस्थागत भ्रष्टाचार मौलाइरहेको दाबी गरे । नाम जुधे/नजुधेको हेर्ने बहानामा कर्मचारीले घुस माग्ने गरेको उनको गुनासो छ । दर्ता भइसकेका कम्पनीको नाम वेबसाइटमै राखिदिए सेवाग्राहीले आफैले हेरेर नजुध्ने नाम रोज्न सक्छन् । उक्त कामका लागि खटाइएका कर्मचारीलाई अर्कै काममा लगाउन सकिन्छ । तर, पर्याप्त मात्रामा कर्मचारी नभएको दाबी गर्ने कार्यालयले उल्टै विगतमा सेवाग्राही आफैले गर्न सक्ने कामका लागि अहिले कर्मचारी खटाएको छ ।
त्यस्तै कार्यालयले प्रदान गर्ने सेवा अनलाइन नहुँदा दिनहुँ ४/५ सय सेवाग्राहीको भीड लाग्ने गरेको अर्का भुक्तभोगीको भनाइ छ । घूस पाए कर्मचारीलाई चुक्ता पूँजी वृद्धि गर्न बैंक स्टेटमेन्टसमेत नचाहिने उनले दाबी गरे ।