तरलता अभाव समाधान उन्मुख : अर्थमन्त्री शर्मा



काठमाडौं,चैत ८ । अर्थमन्त्री जनार्दन शर्माले शोधनान्तर घाटालाई विस्तारै सुधार गर्दै लगेको र तरलता अभाव समाधानउन्मुख भएकाले अर्थतन्त्र विस्तारै लयमा आउने विश्वास व्यक्त गरेका छन् । सोमवार रुकुम सदरमुकाममा आयोजित कार्यक्रममा उनले कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्ममा निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताए ।

आगामी आवदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम, सुनचाँदी, खानेतेल, प्लास्टिक, डण्डी तथा डण्डीजन्य वस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाडादरलगायतको मूल्य श्रृंखलामा भएको वृद्धिले नेपालमा समेत मूल्यवृद्धिमा चाप परिरहेको अर्थमन्त्री शर्माले बताए । मूल्यवृद्धिका लागि राखिएको वार्षिक लक्ष्यको वाञ्छित सीमाभित्रै रहेकाले आत्तिनुपर्ने स्थिति नरहेको उनको भनाइ छ ।

अहिले अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै अर्थमन्त्री शर्माले यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताए । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर निर्माण गरिने उनको भनाइ छ । ‘आगामी आवको बजेटमार्फत कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने गरी छलफल अगाडि बढाएका छौं,’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मद्दत गर्ने विश्वास छ ।’  प्रमुख शहरसँग ग्रामीण क्षेत्रको दूरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने उनले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्