कोषलाई पूर्वाधार परियोजनामा लगानी गर्न अर्थमन्त्रीको सुझाव



काठमाडौं,चैत ६ । अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गरिनुपर्ने बताएका छन् । कोषको ३२ औं वार्षिकोत्सव उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्नेमा जोड दिए ।

कोषजस्तै संस्थाहरुले सिर्जना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले अहिले मुलुकलाई १७/२० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताए । नेपाल वायु सेवा निगमलाई कोषले प्रवाह गरेको ऋण सम्बन्धमा मन्त्री शर्माले जमानत बसेर लिएको ऋणको जिम्मेवारी सरकारले नै पूरा गर्ने भए पनि सम्बन्धित संस्थालाई जिम्मेवार बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

बजारबाट पैसा हराइरहेको विषयमा सरकारले चासो राखिरहेको उनको भनाइ छ । आयातमा भएको वृद्धिले शोधनान्तर स्थितिमा समस्या आएको बताउँदै शर्माले भने, ‘उत्पादनमा लगानी गर्दै निर्यातलाई सन्तुलित बनाउनुपर्छ ।’

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताए  । शेयर बजारमा लगानी कोषको भूमिका महत्वपूर्ण  हुने हुँदा कोषसँग सहकार्य गर्न बोर्ड तयार रहेको उनले जानकारी दिए ।

उक्त अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करीब ८ लाखभन्दा बढी सहभागीलाई आबद्ध गराई आफ्नो सेवा देशभर पुर्‍याइरहेको बताए । कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड पुगेको छ भने चालू आर्थिक वर्षको पुस मसान्तसम्म खुद मौज्दात रकम १ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यो अवधिमा कोषले १ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ लगानी गरेको छ ।

कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई सञ्चालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुटयाइएको छ । कोषका विभिन्न कार्यलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको उनले जानकारी दिए । सञ्चालक ईश्वरीप्रसाद अर्यालले कोषमा सीमित जनशक्ति रहे पनि सञ्चालनदेखि कोष नाफामा गएको बताए ।

प्रतिक्रिया दिनुहोस्