नक्कली बिल बिजक बनाएर ८ करोड राजस्व छली आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं,चैत ३ । राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि करको नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले मंगलवार उच्च अदालत पाटनमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका देउजा गाउँमा स्थायी बसोबास गर्ने दिपककुमार देउजा, चितवन कालिका नगरपालिका स्थायी ठेगाना भई काठमाडौंको सितापाइला बस्ने मोहनप्रसाद भट्टराई र काठमाडौं लगनटोलमा स्थायी बसोबास गर्ने सुनिलमान शाक्य रहेका छन् । 

उनीहरुले सौगात इन्टरनेशनल नामक कम्पनीबाट नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि बिजकमार्फत विवरण तयार गरी राजस्व छली गरेको विभागले बताएको छ ।

मूल्य अभिवृद्धि करतर्फ २ करोड ५२ लाख १४ हजार ३९५ रुपैयाँ र आयकरतर्फ ५ करोड ६९ लाख ५८ हजार २४६ रुपैयाँसमेत गरी ८ करोड २१ लाख ७२ हजार ६४१ रुपैयाँ कायम गरी प्रतिवादीहरु दिपक कुमार देउजा र मोहनप्रसाद भट्टराईसँग असूल उपर गरी बिगोको शतप्रतिशत जरिवाना माग गरिएको छ ।

यसैगरी सुनिलमान शाक्यको हकमा भने मतियारलाई हुने सजाय हुन माग दावी लिई अभियोग पत्र दायर गरिएको  छ । विभागले उनीहरुबाट कुल १६ करोड ४३ लाख रुपैयाँ बिगो तथा जरिवाना माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्