राजस्व चुहावट गरेको अभियोगमा वडाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर



काठमडौं!चैत ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नं १४ का वडाध्यक्षसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । 

आयोगले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मी, वडा सचिव राज कुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अंसारी, संजय कुमार पटेल र कार्यालय सहयोगी जितेन्द्र कुमार कुर्मीविरुद्ध बुधवार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । 

वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिसलगायतका अन्य सिफारिस बापतको राजस्व रकमको रसिद नकाटी, जथाभावी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजस्व रकम चलानी नराखी राजस्व रकम हिनामिना गरेको अभियोगमा उनीहरूविरूद्ध मुद्दा दायर भएको आयोगले जानकारी दिएको छ ।

आयोगले भरत प्रसाद कुर्मी, रफिक अंसारी, संजय कुमार पटेल र जितेन्द्र कुमार कुर्मीको हकमा बिगो रू. १ लाख २ हजार ५२५ कायम गरी बिगो रकमको दोब्बर जरिवाना समेत माग गरेको छ । त्यस्तै, वडा सचिव अनामिका रौनियारको हकमा बिगो रू. १ लाख ३१ हजार ९० र वडा सचिव राज कुमार सिंहको हकमा रू. ३२ हजार २३५ बिगो कायम बिगो रकमको दोब्बर जरिवाना हुनेगरी विशेष अदालतममा मुद्दा दायर गरिएको हो ।  

प्रतिक्रिया दिनुहोस्