खरीद नियमावली यथाशीघ्र कार्यान्वयनमा ल्याउन पहल गर्छु : अध्यक्ष सिंह



काठमाडौं,चैत १। नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले हालै संशोधन भएको सार्वजनिक खरीद नियमावली–२०६४ को ११औं संशोधनलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतवार सम्पन्न निर्वाचनबाट महासंघको नयाँ कार्यकालका लागि अध्यक्षमा निर्वाचित सिंहले निर्माण व्यवसायीले पाँचओटासम्म ठेक्का पाउने व्यवस्था कार्यान्वयनलाई आफूले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

सार्वजनिक खरीद नियमावलीको प्रभावकारी कार्यान्वयन, कामको असमान वितरण न्यूनीकरण र मूल्यवृद्धिका कारण भएको मर्कालाई सम्बोधन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको उनले बताएका हुन् । यसैगरी सार्वजनिक खरीद ऐन छिटो संशोधन गराउनेतर्फ पनि पहल गर्ने उनको उद्घोष छ ।

शुक्रवारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा शुरू भएको महासंघको २३औं साधारणसभा र १२औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आइतवार राति आएको मत परिणामअनुसार अध्यक्षमा महासंघकै वर्तमान अध्यक्ष सिंह, महासचिवमा रोशन दाहाल र कोषाध्यक्षमा हरिणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । वर्तमान पदाधिकारीसहितको प्यानल बनाएर चुनावमा आएका सिंहले दुई प्रतिस्पर्धी निकोलस पाण्डे र अर्का उम्मेदवार हुमनाथ कोइरालालाई ठूलो मतान्तरले पछि पारेका हुन् । सिंहलाई साना व्यवसायीको उल्लेख्य साथ रह्यो । अध्यक्षका प्रतिस्पर्धी पाण्डेले पनि प्यानल बनाएर चुनावमा उम्मेदवारी दिएका थिए भने कोइरालाले भने प्यानल बनाएका थिएनन् । यसैगरी सिंह प्यानलबाट वरिष्ठ उपाध्यक्षमा आङदोर्जी (एडी) लामा निर्वाचित भएका छन् ।

एशोसिएटतर्फको उपाध्यक्षमा रामजी पन्त विजय भएका छन् । यस्तै प्रदेश १ को उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, मधेश प्रदेशमा शम्भु ठाकुर, बागमतीमा बालकृष्ण थापा, गण्डकीमा खिमप्रकाश मल्ल, लुम्बिनीमा टोपबहादुर रायमाझी, कर्णालीमा रत्नबहादुर खड्का र सुदूरपश्चिममा प्रकाशबहादुर सेठी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्