पेप्सी र कोकाकोलालाई पर्यावरण मुआब्जा बापत २५ करोड भारु जरिवाना



भूमिगत पानी दोहन गरेको आरोप

एजेन्सी,फागुन २५ । भारतका दुई ठूला बहुराष्ट्रिय बोटलिंग कम्पनीलाई त्यहाँको एउटा नियामकले २५ करोड भारतीय  रुपया(भारु) जरिवाना गरेको छ ।

नेशनल हरित अधिकरण(एनजीटी) ले पेप्सी र कोकाकोला इन्डियालाई  उक्त रकम जरिवाना गरेको हो । एनजीटीले  ती कम्पनीका म्यानुफ्याक्चरिंग प्लान्टले अवैध तरिकाले जमीनको पानी निकालेको  भन्दै जरिवाना गरेको हो । एनजीटीले ती बहुराष्ट्रिय कम्पनीविरुद्ध अवैध तरिकाले पानी निकालेको भन्दै पर्यावरण मुआब्जा बापत जरिवाना गरेको हो ।

एनजीटीले कोकाकोलाको निर्माता तथा बोटलिंग कम्पनी मून वेबरेज तथा  पेप्सीको निर्माता तथा बोटलिंग कम्पनी बरुण वेबरेज लिमिटेडले लाइसेन्स शर्त उल्लंघन तथा भूमिगत पानी दोहन र भूमिगत पानी रिचार्ज गर्नका लागि कुनै पनि प्रकारको उपाय अबलम्वन नगरेको अनुसन्धानका क्रममा खुलेको बताएको छ ।

कोकाकोला बनाउने कम्पनी मून वेबरेजको ग्रेटर नोयडास्थित प्लान्टलाई १ करोड ८५ लाख भारु,साहिबाबादस्थित प्लान्टलाई १३ करोड २४ लाख भारु र बरुण वेबरेजको ग्रेटर नोयडास्थित प्लान्टलाई ९ करोड ७१ लाख भारु जरिवाना गरिएको छ ।

एनजीटीका अध्यक्ष आदर्श कुमार गोयलले ती कम्पनीलाई भूमिगत पानी रिचार्ज गर्ने उपायलाई कडा रुपमा अबलम्वन गर्न पनि निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्