तेलको भाउ प्रतिब्यारेल ३०० डलर पुग्न सक्ने रुसको चेतावनी, नेपालमा कति पुग्ला मूल्य ?



काठमाडौं,फागुन २५ । युक्रेनमाथि रुसले पछिल्लो दिनमा हमला तीव्र बनाएसँगै अमेरिका र यूरोपले रुसमाथिको प्रतिबन्ध कसिलो बनाउँदै गइरहेका छन् ।

पश्चिमी देशहरुले रुसको तेलमाथि प्रतिबन्ध लगाउने र बजारमा आपूर्ति अवरोध आउने चिन्ताबीच हालैका दिनमा कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्कको भाउ बढेर सन् २००८ यताकै उच्च स्तरमा उक्लिएको छ । सोमवार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले अमेरिका र यूरोपेली मित्र राष्ट्रहरुले रुसी तेल आयातमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका थिए ।

उनको सो अभिव्यक्तिको प्रतिक्रियामा सोमवार एशियाली बजारमा कच्चा अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ बढेर प्रतिब्यारेल १२ प्रतिशतभन्दा धेरैले बढेको १३९ डलरमाथि उक्लिएको थियो । मंगलवार भने ब्रेन्टको भाउ प्रतिब्यारेल १२९ डलर आसपास रहेको छ । 

रुसी तेलमाथि प्रतिबन्ध लाग्यो भने अन्तरराष्ट्रिय बजारमा तेलको भाउ यसअघि कहिले नदेखिएको स्तरमा पुग्न सक्ने चेतावनी रुसले दिएको छ । रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकका अनुसार यसले विश्व बजारमा तेलको भाउ प्रतिब्यारेल ३०० डलरसम्म पुग्ने सक्नेछ । 

‘रुसी तेल अस्वीकार गरियो भयो विश्व बजारमा विनाशकारी परिणामहरु उत्पन्न हुने स्पष्ट छ’, नोभाकले भनेका छन् । तेलको भाउमा हुने वृद्धि भविष्यवाणी गर्न नसकिने खालको हुने र यो प्रतिब्यारेल ३०० डलरमाथि नगएपनि ३०० डलरसम्म चाँहि पुग्न सक्ने उनको भनाइ छ । 

यूरोपको४० प्रतिशत तेलको आपूर्ति रुसबाट भइरहेको छ । रुसबाट प्राप्त गर्ने तेलको आयतनलाई विस्थापित गर्न यूरोपलाई एक वर्षभन्दा लामो समय लाग्ने नोभाक बताउँछन् । यसका लागि यूरोपेली देशहरुले उच्च मूल्य तिर्नु पर्ने पनि उनको भनाइ छ ।

रुसी तेलमाथि प्रतिबन्ध लगाउँदा के हुन सक्छ भनेर यूरोपेली देशका नेताहरुले इमानदार भएर आफ्ना नागरिक र उपभोक्ताहरुलाई चेतावनी दिनु पर्ने पनि नोभाकले बताए । 

यूरोपले रुसी तेलमाथि प्रतिबन्ध लगाउन खोजेको भए लगाए हुने अनि आफूहरु यसका लागि तयार रहेको उनको भनाइ छ । यूरोपले नकिनेको तेल कतातिर पठाउनु पर्छ भनेर आफूहरुलाई थाहा भएको समेत उनले बताए ।

हालैका दिनमा युक्रेनी संकट बढ्दै गएसँगै विश्व बजारमा तेल महँगिएको छ । यसको प्रभाव सुनको भाउदेखि शेयर बजारसम्म अनि सर्वसाधारणको दैनिकी र भात भान्सासम्म देखिएको छ । साउदी अरबपछि रुस विश्वको दोस्रो ठूलो कच्चा तेल उत्पादक देश हो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्