१४ पैसा नाफा बढाउनु पर्ने भन्दै व्यवसायीले दिए पेट्रोलियम पदार्थको कारोबार ठप्प पार्ने चेतावनी



काठमाडौं,फागुन २५ । पेट्रोल विक्रेताले १४ पैसा प्रतिलिटर नाफा बढाउन माग गर्दै माग सम्बोधन नगरे पेट्रोलियम पदार्थको कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल पेट्रोलियम व्यवसायी ढुवानी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले संयुक्त विज्ञप्ति निकाल्दै ६ बुँदे माग राखेका छन् । 

माग सम्बोधन नभएमा पेट्रोलियम पदार्थको कारोबार ठप्प पार्ने चेतावनी संयुक्त विज्ञप्तिमार्फत दिइएको छ । ‘पेट्रोलियम विक्रेताले प्रतिशतमा पाउँदै आएको कमिशन २०७८ फागुन १९ गतेबाट स्थगन गरिएकोमा सोही मितिबाट लागू हुनेगरी साविकको व्यवस्था अनुसार गरिनुपर्ने’ विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नेपाल आयल निगमले पेट्रोल विक्री गरेवापत विक्रेतालाई प्रतिलिटर ३ दशमलव ४ प्रतिशत कमिशन दिंदै आएको थियो। सो अनुसार यसअघि विक्रेताले ४ रुपैयाँ ७१ पैसा प्रतिलिटरका दरले कमिशन पाउँदै आएका थिए । आयल निगम सञ्चालक समितिले गत फागुन १९ गतेबाट लागू हुनेगरी प्रतिशतमा उपलब्ध गराउँदै आएको कमिशन खारेज गरेको थियो ।

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अत्यधिक बढेका कारण नेपालमा पनि मूल्य बढेकाले प्रतिशतमै कमिशन उपलब्ध गराउन नसक्ने भन्दै विक्रेताको कमिशन ४ रुपैयाँ ७१ पैसा नै यथावत राख्ने निर्णय निगमको सञ्चालक समितिले गरेको थियो ।

यसअघिदेखि नै प्रतिशतमा कमिशन पाउँदै आएका विक्रेताको कमिशन पछिल्लो पटकको मूल्य वृद्धिमा बढ्न नपाएपछि व्यवसायीले अस्वभाविक माग राखेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

उनका अनुसार पछिल्लो समय मूल्य बढेअनुसार प्रतिशतमै कमिशन उपलब्ध गराउँदा विक्रेताले थप १४ पैसा प्रतिलिटर मात्रै पाउँथ्ये। ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण अहिले नेपालमा महंगो भएको हो’ उपाध्यायले भने, ‘यस्तो बेलामा पनि व्यवसायीले प्रतिशतमै कमिशन पाउनुपर्ने माग गरेका छन्। अहिलेको मूल्य अनुसार प्रतिशतमै कमिशन दिँदापनि १४ पैसा मात्रै व्यवसायीले पाउने हुन्।’

त्यस्तै विक्रेताले पाउँदै आएको प्राविधिक नोक्सानी सम्बन्धमा नाप तौल तथा गुणस्तर विभागले गरेको अध्ययन प्रतिवेदन अनुसार लागू हुनुपर्ने माग व्यवसायीले गरेका छन् । त्यस्तै नेपाल सरकारले यातायात क्षेत्रमा लागु गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम पदार्थको ढुवानी साधनमा समेत ढुवनी भाडा कायम गर्न व्यवसायीको माग छ ।

पेट्रोलियम व्यवसायी समेत रहेका एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले तेलको मूल्य वृद्धि हुँदा भाडामा आएको ग्याप मेन्टन गर्न माग गरिएको बताए । ‘७८ रुपैयाँ डिजेलको मूल्य हुँदा निर्धारण गरिएको भाडादर ढुवानी व्यवसायमा छ’ उनले भने, ‘अहिले डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम हुँदा पनि त्यही भाडादर भएकाले त्यो बीचको अन्तर ढुवानीकर्ताले पाउनुपर्ने माग हो ।’

एलपी ग्यास उद्योग संघका अध्यक्ष कुसप्रसाद मल्लीको समेत हस्ताक्षर रहेको विज्ञप्तिमा पनि ढुवानी भाडा समायोजन गर्न माग गरिएको छ । ‘एलपीजी ढुवानी गर्ने बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडाको हकमा डिजेलको मूल्य अत्यधिक वृद्धि भएतापनि हालसम्म भाडा समायोजन नभएकाले तुरुन्त ढुवानी भाडा समायोजन गर्नुपर्ने तथा आगामी दिनमा डिजेलको मूल्य अनुपातमा बढ्दा बढ्ने र घट्दा घट्ने गरी स्वचालित ढुवानी भाडा लागू हुनुपर्ने’ विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै व्यवसायीले पेट्रोलियम ऐन बनाइ कार्यान्वयनमा ल्याउन, एलपीजी विनियमावली, विक्रेता विनियमावली परिमार्जन गर्न पनि  माग राखेका छन् । माग पुरा नभएमा आगामी चैत ५ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्