साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से : “माघभित्रै बजारले नयाँ रेकर्ड बनाउँछ”



काठमाडौं,माघ ६ । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार र बुधबार घटेको बजारले आज फेरि उकालो यात्रा तय गरेको हो ।  दुई दिनको प्रोफिट बुकिङपछि आजबाट पुनः आफ्नो लयमा फर्केको नेप्सेले छिट्टै नयाँ रेकर्ड कायम गर्ने बताउँछन् सक्रिय लगानीकर्ता दिपेन्द्र रेग्मी । “तुलनात्मक रुपमा पहिलेको तुलनामा तरलताको पनि केही हदसम्म व्यवस्थापन हुँदैछ केही साता अघिसम्म एक रुपैयाँ पनि लोन दिन सक्दैनौँ भन्ने बैंकहरुले फोन गरेरै लोनका लागि डाकिरहेका छन्, सरकार स्थानिय तहको निर्वाचनको तयारीमा छ भने संभवत यो महिना भित्रमै नेप्से र धितापत्र बोर्डले पनि नेतृत्व पाउने छन् यी सबै कुराहरुको विश्लेषण गर्दा माघ महिना भित्रमै नेप्सेले अलटाईम हाइको रेकर्ड ब्रेक गर्ने मेरो अनुमान छ यसरी बेला बेलामा आउने सामान्य करेक्सनले नेप्सेको उकालो यात्रालाई थप मजबुत बनाइरहेको छ“ उनले भने ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.९६ अंकले बढेर २९३१.२६ विन्दुमा पुगेको छ । नेप्से १.१४ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.७६ अंकले बढेर ५४३.७४ विन्दुमा पुगेको छ । कूल २२९ वटा कम्पनीको एक करोड ५९ लाख ८९ हजार ७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४ सय ९ रूपैयाँ १८ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज बैंकिङ्ग र म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ । 

बिहीबार पनि आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड २० लाख ५३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । कम्पनीले हकप्रद सेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ः०.४० अनुपातमा ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ५० रूपैयाँ पुगेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ३५ रूपैयाँ ८० पैसा पुगेको छ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य पनि ९.९७ प्रतिशतले बढेको छ ।

आज १२ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर २०८३ को सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ४.३९ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ९० रूपैयाँमा झरेको छ । 

प्रतिक्रिया दिनुहोस्