कहिले हट्ला घरजग्गामा मन्दी ? बैनाको भाका सार्दै खरीदकर्ता, मालपोत कार्यालय सुनसान
अर्थतन्त्रका अन्य सूचकमा सुधार नआएसम्म घरजग्गा व्यावसायमा पनि सुधार नआउने
माघ ४, काठमाडौं। बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्याले सबैभन्दा धेरै प्रताडित हुने क्षेत्र मध्ये एक हो घरजग्गा व्यवसाय ।
साना हुन् या ठूला कारोबारी सबैले भरपर्नुपर्ने बैंक तथा वित्तीय संस्थामै हो । तिनै संस्थासँग ऋण दिन पैसा नभएपछि पछिल्लो ३/४ महिना यता यो क्षेत्र अस्तव्यस्त बनेको छ ।
कलंकी स्थित मालपोत कार्यालयमा सोमबार जम्मा १० जना सेवाग्राही मात्रै उपस्थित थिए । ती पनि जग्गा खरीदविक्रीको लागि नभइ कोही हालसाबिक गर्न आएका थिए त कोही नामसारी गर्न आएका थिए ।
मालपोत बाहिर चिया पसलमा भेटिनेहरुको गुनासो भने छुट्टै थियो । कोही बैना गरेर जग्गा पास गर्न नसकेपछि थप समय मागिरहेका थिए । कोही भने निकै समस्यामा परिसकेको भन्दै जसरी पनि पैसा दिएर जग्गा पास गर्न अनुरोध गरिरहेका थिए ।
यो एउटा कार्यलयको मात्रै समस्या होइन । अहिले उपत्यका भित्र वा बाहिरका सबैजसो मालपोत कार्यालयमा यस्तै दृश्य देख्न सकिन्छ ।
कोरोनाको पहिलो र दोस्रो लहरमा लकडाउन हुने हल्लाले मालपोत कार्यालयमा थामी नसक्नु भीड बढेको थियो । तेस्रो लहरमा पनि संक्रमणको ग्राफ उकालो लाग्दै गर्दा भीडभाड
हुनसक्ने मालपोत कार्यालयले अनुमान गरेका थिए । तर यतिबेला सेवाग्राहीको संख्या घटेको देख्दा कार्यालयका कर्मचारीहरु नै अच्चमित छन् ।
एक पटकमा २५ जना भन्दा बढीलाई कार्यालय प्रवेशमा रोक लगाउने योजना सहित सूचना तयार पारेपनि गेटमा टाँस्नुपर्ने गरि सेवाग्राही नै नआएको कलंकी मालपोत कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीले अभियानलाई बताए ।
प्रीन्ट गरेको सूचना देखाउँदै सुवेदीले भने –‘कार्यालयमा १० जना भन्दा बढी सेवाग्राही छैनन्, अब यो सूचना टाँस्नेकी नटाँस्ने ।’
बैंकिङ क्षेत्रमा तरलता सहज नभएकाले घरजग्गा कारोबार विगत ३/४ महीनादेखि नै सुस्त छ । अन्य आर्थिक गतिविधि पनि सुस्त देखिएको बेला सरकारले फेरी लकडाउन गर्यो भने त नेपालको अर्थतन्त्रले धान्न नसक्ने सुवेदीको बुझाइ छ ।
विभागको तथ्याङ्क भन्दा फरक छ कार्यालयको अवस्था
उपत्यकामा पछिल्लो २ महिनामा घरजग्गाको कारोबार ४० देखि ५० प्रतिशत सम्म घटिसकेको छ । तर भूमि व्यवस्थापन तथा अभिलेख विभागको अनलाइन प्रणालीले भने केही कार्यालयको गलत तथ्याङ्क देखाएको पाइएको छ ।
कलंकी मालपोत कार्यालयले मंसिरमा ५६ र पुसमा ५१ करोड रुपैयाँ भन्दा बढी रजिष्ट्रेशन दस्तुर मात्रै संकलन गरेको विभागको तथ्याङ्क छ । तर मालपोतको तथ्याङ्कमा भने मंसिर र पुस दुवै महिनामा ३०/३५ करोड रुपैयाँ भन्दा बढी रजिष्ट्रेशन दस्तुर संकलन नभएको कार्यालय प्रमुख सुवेदीले बताए ।
भूसेवा केन्द्रले कुनै कारोबार गर्ने भनेर विभागको अनलाइन प्रणालीमा इन्ट्री गरेपछि कारोबार नभएपनि प्रणालीमा कारोबार संख्या र राजस्व देखाउछ । त्यसैले विभागको तथ्याङ्क भन्दा कारोबार संख्या र राजस्व कम संकलन भएको देखिन्छ ।
कहिले हट्ला घरजग्गामा मन्दी ?
नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले २० वर्षको व्यावसायिक यात्रामा २ पटक मात्रै यस्तो मन्दी देखेको बताउँछन् ।
‘अर्थतन्त्रका सूचकहरु सबै नकारात्मक भएको बेलामा घरजग्गा व्यवसाय पनि सुस्ताएको छ ।’ वाग्लेले भने, ‘अर्थतन्त्रका अरु सूचकहरुमा सुधार नआएसम्म घरजग्गा व्यवसायमा पनि सुधार आउने सम्भावना छैन । बरु यस्तो अवस्था लम्बिदै गएमा धेरै व्यावसायीहरु समस्यामा पर्न सक्छन् ।’
अहिले समस्यामा परेका केही व्यक्तिले सस्तोमा जग्गा बेचेपनि जग्गाको मूल्यनै घटिसकेको अवस्था भने नरहेको उनको दावी छ ।
कसैलाई अतिनै समस्या परेको बेला हिजो पनि सस्तोमा जग्गा बेच्थे, भोलिपनि सस्तोमा जग्गा बेच्छन् । तर २/४ जनाले सस्तोमा जग्गा बेच्यो भन्दैमा समग्र घरजग्गाको मूल्य घट्यो भन्न नमिल्ने उनको भनाई छ ।आर्थिक अभियानबाट