मूल्यवृद्धिले अलैंचीखेती गर्ने किसानलाई राहत



भोजपुर,माघ ४ । यस वर्ष अलैंचीको मूल्यमा वृद्धि भएपछि भोजपुरका किसान उत्साहित भएका छन् । गतवर्ष प्रतिमन २६ हजार रुपैयाँमा विक्री भएको अलैंची यस वर्ष प्रतिमन ४० हजार २०० रुपैयाँसम्ममा घरबाटै विक्री भएको टेम्केमैयुङ गाउँपालिका–५ का किसान शिवकुमार विष्टले बताए ।

अलैंचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यस वर्ष कमी आएको विष्टले बताए । वर्षेनि मूल्यमा कमी, गतवर्ष भएको खडेरी र अन्य कारणले खेती विस्तार नहुँदा उत्पादन घटेको उनको भनाइ छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैंची किसानले विगत वर्षको तुलनामा झन्डै दोब्बर मूल्य पाएका छन् ।

ठेकेदारले घरबाटै प्रतिकेजी एक हजारमा अलैंची लैजाने गरेको किसान जयकुमार राईले बताए । ‘अलैंचीबाट सात/आठ वर्ष अघिसम्म राम्रो आम्दानी पाएपछि हौसिएर धानखेतमा अलैंची लगाएको थिएँ । गतवर्षसम्म मूल्य घटिरहँदा निराश भए पनि यस वर्षको मूल्यबाट भने केही राहत मिलेको छ,’ उनले भने । उनले तीनओटा बगान गरी करिब १५० रोपनी क्षेत्रफल जतिमा अलैंची लगाएका थिए ।

किसानको हकहितका लागि काम गरिरहेको जिल्ला अलैंची व्यवसायी संघ, भोजपुरका अध्यक्ष नवीन प्रधानले बताए । खेतीको विस्तार तथा किसानलाई विभिन्न समयमा आउने समस्याको विषयमा संघले सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँदै आएको उनको भनाइ छ ।

अध्यक्ष प्रधानले यस वर्ष मूल्य बढे पनि अलैंचीको उत्पादनमा भने कमी आएको बताए । आफूले पनि ४० रोपनी क्षेत्रमा अलैंचीको खेती गरेको भए पनि सोचेजस्तो उत्पादन नभएको उनको भनाइ छ । ‘यस वर्ष अलैंचीको मूल्य राम्रो नै छ । केही भए पनि किसानलाई राहत मिलेको छ । तर उत्पादन भने यस वर्ष राम्रो भएन,’ उनले भने । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार यस वर्ष जिल्लामा २३२ मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लामा ७१९ हेक्टर क्षेत्र अलैंची खेतीयोग्य भए पनि ५९७ हेक्टरमा उत्पादन भइरहेको कृषि  केन्द्रले बताएको छ । कार्यालयका अनुसार यस वर्ष किसानले प्रतिमन ४० हजारदेखि ४८ हजार रुपैयाँसम्ममा अलैंची विक्री गरेका छन् । जिल्लामा अलैंचीको विस्तारका लागि ६ पकेट, दुई ब्लक र ६ स्थानीय तहको ३० ओटा वडामा अलैंची जोन कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्लामा रामशाही, गोल शाही, डम्बर शाही, जिर्मले जातको अलैंची खेती हुने गरेको छ । भोजपुरका दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङथर्पु, तिम्मा हेलौछा, गुप्तेश्वरलगायत ठाउँमा मुख्य रूपमा अलैंची उत्पादन हुने गर्छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्