वीरगञ्ज भन्सारले उठायो ६ महीनामा १ खर्ब राजस्व
वीरगञ्ज,माघ ४ । आयातनिर्यात कारोबारका हिसाबले देशकै मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो अर्ध वार्षिक अवधिमा १ खर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।
भन्सारले चालू आवको साउनदेखि पुससम्मको अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । ‘यो रकम अघिल्लो आर्थिक वर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी हो,’ पौडेलले भने ।
वीरगञ्ज भन्सारले गत आवको पुससम्ममा राजस्वमा ७३ अर्ब ५५ करोड रुपैयाँ योगदान दिएको भन्सारको तथ्यांकमा देखिन्छ । गतवर्ष कोरोना महामारीका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष ≈वात्तै बढेकाले चालू आवमा आयातसँगै राजस्व पनि उल्लेख्य बढेको पौडेलको भनाइ छ ।
चालू आवको ६ महीनाका लागि वीरगञ्ज भन्सारले १ खर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यो अवधिमा भन्सारले उठाएको राजस्व लक्ष्यभन्दा ६ प्रतिशत बढी हो ।
यो वर्षको शुरुआतसँगै आयात उल्लेख्य बढेर विदेशी विनिमयमा दबाब देखिएको छ । विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको छ । सरकारको यो नीतिको असर देखिन कम्तीमा २ महीना लाग्ने र त्यसपछि भने राजस्वमा कमी आउने अनुमान भन्सार अधिकारीहरूको छ ।
कुन शीर्षकमा कति राजस्व ?
भन्सार कार्यालयले सबैभन्दा बढी मूल्य अभिवृद्धि कर उठाएको छ । ३१ अर्ब रुपैयाँ यो कर उठाउने लक्ष्य लिएको भन्सारले लक्ष्यभन्दा ३२ प्रतिशत बढी ४१ अर्ब रुपैयाँ संकलन गरेको छ । वीरगञ्ज भन्सारबाट भित्रिएका मालसामानमा ६ महीनामा ३८ अर्ब रुपैयाँ भन्सार महसुल उठेको छ ।
अन्तःशुल्कतर्फ १२ अर्ब र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करमात्रै करीब ८ अर्ब रुपैयाँ संकलन भएको भन्सारले बताएको छ । अग्रिम आयकर १४ करोड रुपैयाँ, स्वास्थ्य जोखिम कर ८३ लाख, कृषि सुधार शुल्क ७३ करोड, सडक मर्मत तथा सुधार दस्तुर २ अर्ब असुल गरेको छ ।
वस्तु निकासीबाट १ करोड रुपैयाँ राजस्व आम्दानी गरेको भन्सारले भन्सारसम्बन्धी अन्य आय शीर्षकमा ५ करोड रुपैयाँ संकलन गरेको तथ्यांक छ । आर्थिक अभियानबाट